वर्ल्ड बैंकबाट प्राप्त हुने २ अर्ब १४ करोड ऋण सहायता स्वीकृत गर्ने सरकारको निर्णय

-



     सफल आवाज    
     फागुन ६ गते २०७८ मा प्रकाशित



काठमाडौं, ६ फागुन । मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्वतयारी परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने अमेरिकी डलर १८ मिलियन (करिब २ अर्ब १४ करोड) थप ऋण सहायता स्वीकार गर्ने पनि निर्णय गरेको छ ।

बैठकले फागुन ५ गते बैठकले सरकारले श्रमिक अस्पताल स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।

फागुन ५ गते बसेको बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ग्लोबल फन्डको एड्स, क्षयरोग र मलेरिया रोग रोकथाम तथा नियन्त्रणका लागि सन् २०२१–२४ को कार्यक्रम कार्यान्वयनका लागि त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवलाई अख्तियारी प्रदान गर्ने निर्णयसमेत भएको जानकारी दिए ।

बैठकले औषधि दर्ता (चौथो संशोधन) नियमावली, २०७८ र नेपाल मेडिकल काउन्सिल (पाँचौँ संशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने निर्णय गरेको पनि मन्त्री कार्कीले जानकारी दिए ।

राष्ट्रिय बिमा संस्थान सञ्चालक समितिको अध्यक्ष गंगाराम कँडेलको राजीनामा स्वीकृत गर्ने र नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल (ललितपुर) लाई नियुक्त गर्ने तथा नेपाल वन निगम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामेश्वर भट्टराईलाई पदबाट बर्खास्त गर्ने निर्णय पनि हिजोको मन्त्रिपरिषद्को बैठकबाट भएको छ ।