एमाले देश र जनताको हितबिपरित जाँदैन, एमसीसी राष्ट्रको पक्षमा भए मात्रै समर्थन गरिनेछ – अध्यक्ष ओली

- प्रचण्डको दोहोरो चरित्रका कारण देश संकटमा

-



     सफल आवाज    
     फागुन १३ गते २०७८ मा प्रकाशित



पोखरा, १३ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले देश र जनताको हितमा काम गर्ने बाहेक अरु केहि पनि नसाेचेकाे बताएका छन् ।

शुक्रबार पोखरामा आयोजित अगुवा कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । अमेरिकी सहयोग परियोजना (एमसीसी) देशको पक्षमा भए मात्र एमालले समर्थन गर्ने अध्यक्ष ओलीले बताए ।

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको दोहोरो चरित्रका कारण देशमा संकट आएको आरोप समेत लगाए । पुतली र मान्छेको कथा सुनाउँदै अध्यक्ष ओलीले दाहाललाई पुतली की मान्छे भनेर छुट्याउन नसकिएको भन्दै प्रश्न गरे । परिवर्तनका झुटा सपना देखाएर दाहालले धेरै नागरिकको जिवन अंगभंग बनाएको उनको भनाई थियो ।

उनले पाँच दलिय गठबन्धनले चुनाब नगराउने षडयन्त्र गरेपनि एमालेको दबाबका कारण निर्वाचनको मिति घोषणा भएको दावी गरे । आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचमा जुट्नपनि उनले नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

ओलीले पाँच दलिय गठबन्धनलाई अपवित्र गठबन्धनको संज्ञा दिँदै गठबन्धन टुटाएर एक्लै चुनाब लड्न चेतावनी समेत दिए । आफ्ना १४ जना सांसदलाई कारवाहीका लागि लिखित रुपमा जानकारी गराउँदा समेत कुनै पहल नगरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति पनि असन्तुष्टि जनाए ।

आफूहरु सरकारबाट बाहिरिएपछि विकास भन्दापनि गठबन्धनको कुराले बढी प्राथमिकता पाएको ओलीको आरोप थियो । उनले सरकारमा रहनेहरुले नै सडकमा कार्यकर्ता पठाएर सडक भत्काउन र ढुंगा प्रहार गर्न लगाएको भन्दै आक्रोस व्यक्त गरे ।

कार्यक्रममा जनता समाजबादी पार्टीका गण्डकी प्रदेश इन्चार्ज तथा केन्द्रीय सदस्य गणेशमान गुरुङ, हुमबहादुर गुरुङ लगायतका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए । उनिहरुलाई अध्यक्ष ओलीले पार्टी प्रवेश गराएका हुन् ।