
गलेश्वर, १४ फागुन । म्याग्दी सदरमुकाम बेनीबजारसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–७ लस्तीका युवा यामनाथ आचार्यले बैंकको जागिर छोडेर कृषि पेसा रोजेका छन् । आचार्य बैंकिङ क्षेत्रको जागिरै छाडेर व्यावसायिकरुपमा कालिजपालनमा लागेका हुन्।
लस्ती कृषि तथा पशुपन्छी फर्म दर्ता गरेर उनले कालिज, टर्की, हाँस, बाख्रा र माछापालन गरेका छन् । ३५ लाख लगानीबाट ‘जङ्गली कुखुरा’ भनेर चिनिने कालिजको व्यावसायिकपालन सुरु गरेका आचार्यले यस पेसामा धेरै सम्भावना रहेको बुझेपछि व्यवसायलाई थप लगानी र अझै व्यवस्थित बनाएका छन् । कालिजको मासु र अण्डा अरू पन्छीको भन्दा महँगोमा बिक्री हुन थालेपछि कालिजपालनमा लगानी थपेर थप व्यवस्थित बनाएको उनले बताए ।
उनको फार्ममा अहिले बिक्री भएर बँचेका १०० भन्दा बढी कालिज छन् । तीन सयभन्दा बढी कालिज बिक्री गरिसकेको उनले जानकारी दिए । पौने दुई किलोसम्मको एउटा कालिज रु तीन हजार ५०० देखि चार हजारसम्ममा बिक्री हुनेगरेको छ । कालिज प्रजातिका चरामा रोगप्रतिरोधी क्षमता बढी हुनाले जोखिम कम रहेको उनको भनाइ छ । कालिजका लागि उनले रैथाने आहारा मकै, गहुँ, कोदोका साथै बजारबाट आयातित दाना खुवाउने गरेकाे बताए ।
हरियो भुइँ तथा डालेघाँसबाट पनि उनले कालिजलाई दानाको व्यवस्थापन गरेको बताए। उनको फार्ममा तीन व्यक्तिले रोजगारी पाएका छन् । निकट भविष्यमा ‘ह्याचिङ मेसिन’ राखेर आफैँ चल्ला उत्पादन गर्ने र मासुका लागि भाले कालिजको सङ्ख्या बढाउने उनको योजना छ । पाँच महिनामा करिब दुई किलो तौल हुने र ती कालिज मासु खानका लागि योग्य हुने उनले जानकारी दिए ।
कालिजको मासु सबैका लागि स्वादिष्ट र उपयोगी हुने भए पनि विशेष गरी युरिक एसिड भएका व्यक्ति र सुत्केरीका लागि हितकारक हुने बताइएको छ । कालिजलाई दाना र घाँस दुवै दिएर पाल्न सकिन्छ । आहारामा समेत कम खर्च लाग्छ । यद्यपि कालिज आकाशमै उड्न सक्ने भएकाले सबैतिर जालीले छेक्नुपर्छ । त्यसैले खोर बनाउन भने खर्चिलो हुन्छ । आफ्नै जग्गामा अहिले पूर्वाधार विस्तारको समेत काम भइरहेको र बाख्रा तथा कालिजपालनलाई प्राथमिकता दिने उनले बताए।
फार्ममा कालिज, टर्की र बाख्रा छन् । तीनवटा पोखरीमा माछापालन पनि सुरु गरेका छन् । जलजला गाउँपालिकाले पनि व्यावसायिक कृषि क्षेत्रमा लाग्नेलाई प्रोत्साहनको नीति लिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा यसकै लागि रु ४५ लाख बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।
नेपालमा कालिज प्रजातिका चरा लोप हुने अवस्थामा पुगेको भन्दै सरकारले संरक्षितको सूचीमा राखेको छ । यद्यपि यहाँ पछिल्लो समय विदेशी प्रजातिका कालिजको व्यावसायिक पालन थालिएको हो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




