सूर्या लाइफको ‘सुरक्षा कवज’ बिमा योजना, प्रतिमहिना १२ सयमा १ करोडको बिमा

-



     सफल आवाज    
     फागुन १७ गते २०७८ मा प्रकाशित



काठमाडौं, १७ फागुन । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले मासिक १२ सय रुपैयाँ तिर्दा १ करोड रुपैयाँ बराबरको बिमा गरिदिने भएको छ । बिमाको आधारभूत सिद्धान्तबाट अभिप्रेरित भइ न्यूनतम बिमा शुल्कमा सरल र सुलभ बिमा सम्पूर्ण वर्गको पहुँचमा होस् भन्ने नौलो सोच सहित ‘सूर्या सुरक्षा कवज’ बीमा योजना ल्याइएको सो कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार योजना मंगलबारदेखि नै लागू गरिएको छ । आर्थिक क्षेत्रमा आएको मन्दी तथा कोरोना भाइरसका कारण जनजीवनमा देखिएको त्रासका कारणसमेत जीवनको रक्षावरण गर्न अपरिहार्य रहेकाले सूर्या सूरक्षा कवज लोकप्रिय हुने कम्पनीको दाबी छ ।

बिमा गर्दा ठूलो धनराशी आवश्यकपर्ने भ्रम जनमानसमा रहेको अवस्थामा यो जीवनबिमा योजनाले बिमालाई हेर्न दृष्टिकोणमा सकारात्मक प्रभावपर्ने र बिमाको दायरा फराकिलो बनाउनमा सहयोग गर्ने विश्वास लिइएको कम्पनीले जनाएको छ ।

१८ वर्षको उमेर समूहले १ करोड रुपैयाँको बिमांकमा वार्षिक १४ हजार ५५० वा मासिक १२ सय रुपैयाँमा नै बिमा गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार १८ देखि ६५ वर्षका सबै नागरिक सुरक्षित र जीवनको रक्षावरण होस्‌ भन्ने अवधारणालाई आत्मसात गरी सम्भवतस् नेपालको बिमा बजारमा सबैभन्दा न्यून बिमा शुल्कमा यो जीवन बिमा प्रचलनमा ल्याइएको हो । सूर्या सूरक्षा कवज न्यूनतम १ लाखदेखि आयस्रोतको आधारमा जति पनि गर्न सकिनेछ ।

जोखिम बहनका साथै अतिरिक्त क्रिया खर्च सहितको सुविधा भएको यो योजनालाई अन्य योजनाहरूसँग समिश्रण गरी थप जोखिम बहन हुने गरी लिन सकिने सो कम्पनीले जनाएको छ । १ देखि ३० वर्षसम्म बिमा अवधि भएको यो जीवन बिमा योजनामा बिमितको इच्छानुसार एकल भुक्तानी वा वार्षिक, अर्धवार्षिक, त्रैमासिक तथा मासिक किस्तामा बिमा शुल्क रकम बुझाउन सकिने व्यवस्था छ ।