
दाङ, १८ फागुन । कुँदिएका जस्तो ढुंगाहरू देखिन्छन् । हजारौं ढुंगा छन्, जति हेर्यो उत्ति हेरौँ लाग्छ । हिजोआज ती ढुंगा हेर्ने र टिकटक बनाउनेको घुइँचो लाग्छ । तुलसीपुर उपमहानगरपालिका–१३ स्थित झाँक्री ढुंगा सामुदायिक वनमा रहेका ती हजारौँ ढुंगा कुदिएका जस्ता देखिन्छन् । त्यसलाई स्थानीयवासीले ‘जन्तीढुंगा’ नाम दिएका छन् ।
त्यो ठाउँमा ‘जन्तीहरू बिलाएको’ भन्ने किंवदन्ती छ । कुँदिएका जस्तो देखिने ती ढुंगा जन्ती, दुलहा–दुलही रहेको स्थानीयवासी बताउँछन् । जन्ती बिलाएपछि त्यहाँ झाँक्री पनि गएको र उनी पनि त्यही बिलाएको भन्ने किंवदन्ती छ । ‘हामी सानै छँदा यो बाटो हिँड्नु हुँदैन, त्यहाँ जन्ती बिलाएको ठाउँ हो, त्यो बाटो हिँड्दा हामी पनि बिलाउँछौँ भनेर बूढापाकाले भन्नुहुन्थ्यो,’ स्थानीयवासी ८० वर्षीय लीलाधर भट्टराईले भने, ‘त्यही भएर हामी यो बाटो हिँड्दैनथ्यौं ।’
त्यहाँ दुलही ल्याउन गएका जन्ती विश्राम गरेको र त्यही क्रममा बिहान भएपछि जन्तीहरूलाई कहाँ जाऊँ र के गरुँ भएपछि त्यही बिलाएको भन्ने गरिन्छ । यो कुरा अहिलेसम्म कहीँ पनि खुलेको छैन । यो ठाउँ पर्यटकीयस्थल बन्न सक्ने भएकाले यसको प्रचार आवश्यक रहेको भन्दै त्यहाँ वर्षेनी मेला लाग्ने गर्छ । प्रत्येक वर्ष शिवरात्रिमा मेला लाग्ने गरेको स्थानीयवासी जागेश्वर वलीले बताए ।
‘यहाँको प्रचार–प्रसार गर्न सकियो भने पर्यटकीय हिसाबले ठूलो क्षेत्र बन्न सक्छ,’ उनले भने, ‘सोहीअनुसार हामीले प्रत्येक वर्ष शिवरात्रिमा मेला लगाउँछौं ।’
तुलसीपुरको १३ र १४ को सिमानाअन्तर्गत झाँक्री ढुंगा सामुदायिक वनको डाँडामा त्यस्ता ढुंगा छन् । त्यहाँबाट रिहार जोड्ने सडक छ । यसले गर्दा पनि सहजै पर्यटक आउन सक्ने स्थानीयवासी मोहन पौडेलको भनाइ छ । ‘सडक लगभग बनेको छ, अब यो सडकलाई अलिकति व्यवस्थित बनाउनुपर्ने देखिन्छ,’ उनले भने, ‘त्यत्ति गर्न सकिएमा यहाँ पर्यटकको घुइँचो लाग्छ ।’
भ्यूटावर निर्माण गर्न सके दाङसहित छिमेकी जिल्लाका भू–भाग अवलोकन गर्न सकिन्छ । त्यस क्षेत्रमा पानीको समस्या छ । अहिले त्यहाँ हुमबहादुर वलीको अध्यक्षतामा जन्तीढुंगा संरक्षण समिति गठन गरिएको छ । समितिले जन्ती ढुंगाको संरक्षण गर्छ । अहिले यहाँ स्थानमा दुई साधु बस्दै आएका छन् ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



