साताको सेयर बजार : नेप्से सूचक ११४ अंकले गिरावट, ३६ खर्बमा झर्‍यो बजार पुँजीकरण

-



     सफल आवाज    
     फागुन १९ गते २०७८ मा प्रकाशित



काठमाडौं, १९ फागुन । पछिल्लो साता नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ । ३ दिन मात्रै कारोबार भएको नेप्से परिसूचक ११४.०४ अंकले घटेको हो ।

अघिल्लो सातादेखि निरन्तर ओरालो लागेको नेप्से सूचक गत बिहीबार २ हजार ६६१.४४ बिन्दुमा झरेको थियो । यस साता आइबार, सोमबार र बुधबार भएको कारोबारमा ४.३ प्रतिशत अर्थात् ११४.०४ अंकले नेप्सेमा गिरावट आएर २ हजार ५४७.०४ बिन्दुमा झरेको हो ।

साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक ७.७३ अंक घटेको थियो । त्यस दिन ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि ०.७३ अंकले ओरालो लागेको थियो ।

आइतबार २२४ कम्पनीको ७० लाख ४० हजार कित्ता सेयर ३ अर्ब २७ करोड ३० लाख ६५ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो भने दोस्रो कारोबारको दिन सोमबार पनि नेप्से परिसूचक १.६२ प्रतिशतले घटेर २ हजार ६१०.६० बिन्दुमा खुम्चिएको थियो ।

सोमबार कारोबारमा आएका २२७ कम्पनीको ७८ लाख ३४ हजार कित्ता सेयर ३ अर्ब ६६ करोड १ लाख ८९ हजार रुपैयाँको कारोबार भएको थियो । मंगलबार महाशिवरात्रि पर्वका कारण बन्द भएको नेप्से बुधबार मात्रै खुलेको थियो ।

बुधबार कारोबार सुरुहुँदै ओरालो लागेको नेप्से दिनभर ओरालै बिन्दुमा कायम रह्यो । कारोबार बन्द हुनसम्म नेप्से परिसूचक ६३ अंकले घटेको थियो । बुधबार लगातार घटेपछि नेप्से सूचक २ हजार ५४६.६० बिन्दुमा खुम्चिएको थियो भने सेन्सेटिभ इण्डेक्स पनि ११.५२ अंकले माइनसमा झरेको थियो ।

बुधबार २२८ कम्पनीको ७६ लाख ५२ हजार कित्ता सेयर ३ अर्ब ६२ करोड ११ लाख रुपैयाँमा किनबेच भएको थियो । बुधबारसम्म सेयर बजारमा लगानीकर्ताले १ खर्ब ६२ अर्ब २ करोड अधिक पुँजी गुमाएका छन् । गत साताको अन्तिम कारोबारसम्म ३७ खर्ब ६९ अर्ब ६३ करोड रुपैयाँ बजार पुँजीकरण रहेको सेयर बजारमा यस साता ३६ खर्ब ७ अर्ब ६० करोड रुपैयाँमा सीमित भएको नेप्सेले जनाएको छ ।