फेरि बढ्यो कुखुराको मासुको मूल्य

-



     सफल आवाज    
     फागुन २७ गते २०७८ मा प्रकाशित



काठमाडौं, २७ फागुन । ब्रोइलर कुखुरा उत्पादकहरुले १ सातामै २ पटक कुखुराको मासुको मूल्य बढाएका छन् । गत सोमबार किलोमा १० रुपैयाँले बढाएर प्रतिकिलो २९० रुपैयाँ पुर्‍याइएको जिउँदो ब्रोइलर कुखुराको मूल्य शुक्रबारदेखि पुनः बढेको हो ।

नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघकाअनुसार शुक्रबारबाट जिउँदो ब्रोइलर कुखराको प्रतिकिलो कोल्ड स्टोर मूल्य ३०० सय रुपैयाँ पुगेको छ । सोमबार २८० बाट २९० रुपैयाँ पुगेको कुखुराको मासुको मूल्य शुक्रबार ९० बाट १० रुपैयाँ बढेर ३०० रुपैयाँ पुगेको हो ।

बजारमा कुखुरा अभाव भएपछि मूल्य बढेको कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । कुखराको कोल्ड स्टोर मूल्य बढेसँगै तयारी मासुको मूल्य पनि आकासिएको छ ।

संघकाअनुसार काठमाडौं उपत्यका वरपर अहिले तयारी ब्रोइलर कुखुराको मासुको मूल्य ४२० रुपैयाँसम्म पुगेको छ । रुस र युक्रेनको युद्धका कारण कुखुराको दाना उत्पादन गर्ने कच्चा पदार्थ आयात रोकिँदा उत्पादन गर्न असहज भएको संघले जनाएको छ ।