वैदेशिक व्यापार : निर्यातमा ८८.३ प्रतिशतले वृद्धि

-



     सफल आवाज    
     फागुन २७ गते २०७८ मा प्रकाशित


सांकेतिक तस्बिर गुगलबाट


काठमाडौं, २७ फागुन । नेपालको वैदेशिक व्यापारमा गतको वर्षको तुलनामा निर्यातमा निकै सुधार भएको छ । चालू आर्थिक वर्ष ०७८/७९ को ७ महिनामा कुल वस्तु निर्यात ८८.३ प्रतिशतले वृद्धि भई १ खर्ब ३१ अर्ब ६६ करोड रुपैयाँको वस्तु निर्यात भएको हाे ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आवको ७ महिनाको तथ्यांकअनुसार गत आवको सोही अवधीमा निर्यात ७.६ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ११३ प्रतिशत र २७.७ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात १२.४ प्रतिशतले घटेको छ ।

तथ्यांकअनुसार वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), जुस लगायतका वस्तुको निर्यात बढेको छ भने अलैँची, चिया, जडीबुटी, तार, तामाको तार लगायतका वस्तुको निर्यात घटेको हाे ।

चालू आर्थिक वर्ष २०७८/७९ को ७ महिनामा कुल वस्तु आयात ४२.८ प्रतिशतले वृद्धि भई ११ खर्ब ४७ अर्ब ४६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात नगन्य अर्थात् ०.०१ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३०.९ प्रतिशत, ४२.३ प्रतिशत र ८३.८ प्रतिशतले वृद्धि भएको छ ।

राष्ट्र बैंकका अनुसार वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, कच्चा सोयाविन तेल, यातायातका साधन तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने एमएस विलेट, रासायनिक मल, सिमेन्ट, दाल, मोलासिस सुगरलगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ कन्चनपुर, मेची, र नेपालगञ्ज भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा वृद्धि भएको छ । आयाततर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/७९ को ७ महिनामा कुल वस्तु व्यापार घाटा ३८.४ प्रतिशतले वृद्धि भई १० खर्ब १५ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ०.७ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात ११.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.७ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १ खर्ब २८ अर्ब १७ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १ खर्ब ४ अर्ब १३ करोड बराबरको भएको थियो ।