पशुपन्छी तथा माछापालन गरिरहेका २३६ किसानलाई अनुदान

-



     सफल आवाज    
     चैत्र १ गते २०७८ मा प्रकाशित



बागलुङ १ चैत । पशुपन्छी तथा माछापालन गरिरहेका बागलुङका २३६ किसानले अनुदान पाएका छन् । बागलुङ नगरपालिकाले पशुपन्छी तथा माछापालन गरेर गुजारा चलाउँदै आएका २३५ किसान र एक सहकारीलाई एकै पटक अनुदान रकम उपलब्ध गराएको हो ।

बागलुङ नगरपालिका–४ ओडारचौरमा रहेको कृष्ण गाई भैँसी फार्म उद्योगमा २०० किसान जम्मा गरेर नगरपालिकाको पशु शाखाले किसानलाई नगद तथा चेक सोमबार उपलब्ध गराएको हो । दूध तथा मासुको उत्पादन बढाउनका लागि पाडापाडी संरक्षण कार्यक्रमअन्तर्गत १४ किसान र एक सहकारीले हुर्काइरहेका पाडापाडीका लागि अनुदान उपलब्ध गराइएको छ ।

अनुदान पाउने एकमात्रै सहकारी वडा नं ११ को जैविक कृषि सहकारी हो ।प्रतिपाडापाडी १० हजार रुपैयाँका दरले किसानलाई अनुदान उपलब्ध गराइएको हो । कृष्ण गाईफार्मले मात्रै १८ वटा पाडापाडी एकै ठाउँमा हुर्काइरहेको छ ।

त्यस्तै मासुकै उत्पादनको लागि १०० किसानले अनुदान पाएका छन् । प्रतिबाख्रा ६ हजारका दरले किसानले अनुदान पाएका हुन् । कुखुरापालन गरेर खर्च चलाइरहेका ४२ किसानले ४ हजार ३०० का दरले अनुदान रकम पाएको पशु शाखाका प्रमुख शशीधर शर्माले बताए । बंगुरपालन गरेका ३६ किसानलाई ६ हजार रुपैयाँका दरले अनुदान रकम उपलब्ध गराइएको छ ।

माछापालनमा सहभागी किसानले प्रतिपोखरी पुरानोले मर्मत खर्च १० हजार रुपैयाँ र नयाँ पोखरीका लागि २५ हजार रुपैयाँका दरले अनुदान पाएका छन् । ४३ वटा माछापोखरीका लागि अनुदान उपलब्ध गराइएको उनले बताए । किसानको प्रोत्साहनका लागि घर घरमै पुगेर व्यवसाय जाँच गरेपछि अनुदान उपलब्ध गराइएको उनले बताए ।

बागलुङ नगरपालिकाको १० लाख रुपैयाँ र नेपाल सरकारको थप १५ लाख रुपैयाँ गरी नगरले एकै पटक २५ लाख रुपैयाँ किसानको हातमा पु¥याएको हो । ‘पशुपन्छी पालिरहेकाको समस्या भएन, माछाका लागि नयाँ पोखरीको हामी निरन्तर अनुगमन गर्नेछौं,’ उनले भने, ‘अनुदान रकम पनि किसानकै पैसा हो, आफ्नै खर्च सम्झेर सदुपयोग गर्न र आम्दानी बढाउन भनेका छौं ।’

अनुदान रकम वितरण गर्दै नगरप्रमुख जनकराज पौडेलले पशुपालनजस्तो कठिन काम गरेर उपभोक्ताको भोक मेटाउन सहयोग गरेको भन्दै किसानलाई धन्यवाद दिए ।