राष्ट्र बैंकद्वारा २ अर्बको ‘नागरिक बचतपत्र २०८३’ बिक्री खुला

-



     सफल आवाज    
     चैत्र १ गते २०७८ मा प्रकाशित



काठमाडौं, १ चैत । नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्र २०८३ ‘क’ निष्काशन तथा बिक्री खुला गरेको छ । मौद्रिक व्यवस्थापन विभागद्वारा नागरिक बचतपत्र २०८३ ‘क’ निष्काशन गर्ने भएकाले इच्छुकले बचतपत्र खरिद गर्न आवेदन दिन सकिने राष्ट्र बैंकले जनाएको छ ।

बैंकले वार्षिक १० प्रतिशत ब्यादरमा २ अर्ब रुपैयाँको नागरिक बचत पत्र २०८३ जारी गर्न लागेको हो । ब्याज ६/६ महिनामा भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

इच्छुक आवेदकले न्यूनतम १० हजार रुपैयाँ र अधिकतम कुल निष्काशित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा आवेदन दिनुपर्ने छ । उक्त बचतपत्र धितो राखी राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन दिन सकिने जनाएकाे छ ।

नेपाली नागरिकले मात्रै उक्त बचत पत्रमा आवेदन दिन पाउनेछन् । नागरिक बचतपत्र २०८३ ‘क’ मंगलबार (१ गते) देखि चैत २० गतेसम्म बिक्री खुला गरिएको छ ।