नेपाल लाइफको ‘नेपाल लाइफ अनमोल जीवन’ बिमा योजना सार्वजनिक

-



     सफल आवाज    
     चैत्र १ गते २०७८ मा प्रकाशित



काठमाडौं, १ चैत । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बिमा योजना सार्वजनिक गरेको छ ।

मंगलबार कम्पनीले समय सापेक्ष ग्राहकहरुको चाहना तथा अभिकर्ताहरुको सुझावलाई मध्यनजर गर्दै नयाँ जीवन बिमा योजना ल्याएको जनाएको छ । सार्वजनिक गरिएको नयाँ जीवन बिमा योजना मुनाफामा सरिक हुने सावधिक तथा आजीवन जीवन बिमा भएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार मानिसको अनमोल जीवनमा विभिन्न जोखिमबाट आइपर्ने क्षतिलाई बिमाको माध्यमबाट न्यूनीकरण गर्न कम्पनीले सावधिक र आजीवनको विशेषता भएको ‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बिमा योजना बजारमा ल्याएको हो ।बिमा अवधि समाप्तिपश्चात् पनि जोखिम वहन गर्नुको साथै कम्पनीले बहन गर्ने जोखिमअन्तर्गत बिमितले चाहेको समयमा उक्त जोखिम वहन बापतको समर्पण मूल्य भुक्तानी लिन सक्ने कम्पनीले जनाएको छ ।

यस बिमा योजना १८ वर्षदेखि ६५ वर्षसम्म उमेर समूहका व्यक्तिले न्यूनतम ५ वर्षदेखि अधिकतम ५० वर्षसम्म अवधिको बिमा योजना लिन सक्नेछन् । बिमा समाप्तिमा अधिकतम उमेर ७० वर्ष रहेको छ भने न्यूनतम २५ हजारदेखि आयस्रोतको आधारमा जति पनि बिमांक रकमको बिमा गर्न सकिने छ ।

बिमा शुल्क भुक्तानी तरिका छनोटको छुट वा थप शुल्क लाग्नेछ । यदि बिमालेख जारी गर्ने समयमा वार्षिक बिमा शुल्क भुक्तानी गर्ने तरिका छनोट गरेको छ भने बिमा शुल्कमा १ प्रतिशत छुट प्राप्त हुनेछ । तर, अर्ध वार्षिक छनोट गर्दा छुट प्राप्त हुने छैन ।