भकिम्लीमा रु ४५ लाखकाे लागतमा ‘बर्थिङ सेन्टर’ बन्ने

-



     सफल आवाज    
     चैत्र २ गते २०७८ मा प्रकाशित



गलेश्वर, २ चैत । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा सुरक्षित सुत्केरी केन्द्र (बर्थिङ सेन्टर) निर्माण हुने भएको छ । ‘वानहर्ट वल्डवाइड’ नामक संस्था र बेनी नगरपालिकाको सहकार्यमा रु ४५ लाखका लागतमा उक्त केन्द्र बन्न लागेको हो ।

अत्याधुनिक उपकरणसहितको जिल्लाकै नमूना बर्थिङ सेन्टर बनाउने योजनासहित नगरपालिकासँग सम्झौता गरिएको बेनी–३ भकिम्लीका वडाध्यक्ष पदम पुनले जानकारी दिए । “बर्थिङ सेन्टर बनाउन बेनी नगरप्रमुख हरिकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल र वानहर्ट वल्डवाईड नामक संस्थाका प्रतिनिधि उपेन्द्र चन्दबीच सम्झौता भएको छ”, उनले भने।

भवन अभावमा स्वास्थ्य केन्द्रको सानो कोठामा सुत्केरी सेवा उपलब्ध गराउँदै आएको स्वास्थ्यचौकीका अन्य सेवा प्रभावित भइरहेका अवस्थामा नयाँ भवन बनेपछि सेवामा थप सहजता हुने जनाइएको छ । “भवन अभावमा स्वास्थ्य केन्द्रको सानो कोठामा सुत्केरी सेवा दिनुपर्ने बाध्यता थियो, अब सहज हुनेछ”, अध्यक्ष पुनले भने। उनले बर्थिङ सेन्टरका लागि सुत्केरी गराउने, स्वास्थ्यकर्मी बस्ने, ‘वेटिङ’मा बस्ने र हलसहितको भवन निर्माण गरिने जानकारी दिए।

बेनी नगरप्रमुख श्रेष्ठले सुरक्षित प्रसूति सेवाका लागि थप स्रोत साधनको कमी हुन नदिने बताए। भकिम्लीमा प्रसूति लागि दक्ष जनशक्ति भएकाले भवन बनेपछि सहज हुने स्वास्थ्यचौकीले जनाएको छ । स्वास्थ्यचौकी जीर्ण हुँदा झरीमा छाता ओढेर उपचार गर्नुपर्ने बाध्यता छ । वनहार्ट वल्डवाइडद्वारा जिल्लामा मातृ तथा नवजात शिशुका लागि सुरक्षा सञ्जाल परियोजना सञ्चालन गरिरहेको छ ।