चैत १९ गतेदेखि एकीकृत कारोबार गर्दै सूर्योदय वोमी लघुवित्त, मर्जरपछि लघुवित्तको चुक्ता पुँजी कति ?

-



     सफल आवाज    
     चैत्र २ गते २०७८ मा प्रकाशित



काठमाडौं, २ चैत । वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार चैत १९ गतेबाट हुने भएको छ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुन लागेको हो ।

गत पुस २९ गते बिहीबार वोमी लघुवित्त र सुर्योदय लघुवित्त एक आपसमा गाभ्ने-गाभिने प्रयोजनको लागि अन्तिम सम्झौता भएको थियो । पुस १६ गते सम्पन्न वोमी लघुवित्तको १०औं वार्षिक साधारण सभा र सूर्योदय लघुवित्तको नवौं वार्षिक साधारण सभाले गाभ्ने तथा मर्ज गर्ने प्रस्ताव पारित गरेको थियो ।

नेपाल राष्ट्र बैंकले समेत बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने-गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धि विनियमावली २०७३ अनुसार स्वीकृतसमेत दिइसकेको छ । वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्थाबीच भदौ १५ गते गाभिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । राष्ट्र बैंकले कार्तिक १ गते सैद्धान्तिक सहमति प्रदान गरेको थियो ।

मर्जरपश्चात सूर्योदय वोमी लघुवित्तको नामबाट एकीकृत कारोबार हुनेछ । वोमीको १०० कित्ता सेयर बराबर सूर्योदयको १०० कित्ता सेयर आदान प्रदान अनुपात कायम गरिएको छ । मर्जरपश्चात सूर्योदय वोमी लघुवित्तको चुक्ता पुँजी ७९ करोड १९ लाख रुपैयाँ, निक्षेप ४ अर्ब रुपैयाँ, ११ अर्ब रुपैयाँ कर्जा र ग्राहक संख्या १ लाख ७५ हजार पुग्नेछन् ।