अन्नपूर्ण केबलकारको सूर्यदर्शन सेवाले सराङकोट पुग्नेको संख्यामा ५० प्रतिशतले बृद्धि

-



     सफल आवाज    
     चैत्र २ गते २०७८ मा प्रकाशित



काठमाडौं, २ चैत । पाेखराकाे लेकसाइड नजिक सेदीबगरदेखि सराङकोटसम्म स‌न्चालनमा रहेकाे अन्नपूर्ण केबलकारले मंगलबारबाट सूर्यदर्शन सेवा संचालन गरेपछि केबलकार चढेर सराङकोट पुग्नेहरुको संख्या बढ्न थालेको छ ।

यसअघिका दिनहरुमाभन्दा मंगलबार सराङकोट पुग्नेहरुको संख्या ५० प्रतिशतले बढेकाे कम्पनीका महाप्रबन्धक दिनेश पौडेलले जानकारी दिए ।

पर्यटकहरुको चाहना बमोजिम बिहान ५ बजेदेखि नै सूर्यदर्शन ( सनराइज़) सेवालाई मध्यनजर गरी केवलकार संचालनमा ल्याए पछि सूर्योदय अवलोकन गर्न सराङकोट पुग्नेहरुको संख्यामा वृद्दि भएको पौडेलले बताए ।

पोखराबाट सनराइज़ हेर्न सडकमार्ग हुंँदै सराडंकोट पुग्न समय र पैसा पनि धेरै खर्च हुने गरेकोमा समय र पैसाको बचत हुने उनिहरुको यात्रकाे धारणा छ । उनीहरुले याे सेवा सन्चालन गरेकाेमा खुसि व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसका युवा नेता गंगाधर पराजुलीले बिहान उठेर गाड़ी मोटरसाइकल लिएर सराडंकोट पुग्दा आधा घण्टाभन्दा बढ़ी समय लाग्ने मात्र नभएर उकालो र साँघुरो सडक भएकोले कठिनाई भोग्नुपरेकाहरुलाई केबलकारको सूर्यदर्शन सेवाले सहज बनाएकाे बताए ।

पोखरामा वरिष्ठ पत्रकारको रुपमासमेत चिनिने पराजुलीले पोखराका स्थानीय सर्वसाधारणलाई दृष्टिगत गरि शुरुआतका दिनमा केवलकारको भाडामा केही छुट दिन सके यात्रुको संख्या अझै बढ्न सक्ने भन्दै सनराइज़ र सनसेट हेर्न तथा हिम शृंखला र फेवातालको प्राकृतिक सुन्दरता हेर्नेका लागि व्यवस्थित पार्क बनाउनुपर्ने खाँचों औल्याए ।

पोखराको लेकसाईड नजिक सेदीबगरबाट जम्मा १० मिनेटको समयमा नै सराङकोट पुगेर सूर्योदयका साथ मनमोहक हिमश्रृंखला हेर्न पाएको भन्दै पोखराका रेडियोकर्मी तिर्थ केसीले पनि खुशी व्यक्त गरे ।

गत फागुन ६ गते सफ्ट ओपनिङ गरेर बिहान १० बजेदेखि साँझ  ५ बजेसम्म सेवा दिईरहेको केवलकारले मंगलवार अर्थात् चैत १ गतेबाट सूर्यदर्शन सेवा शुरू गरेको हो । नयाँ समय तालिका अनुसार बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म केवलकारले यात्रुहरुलाई सेवा दिन थालेको छ ।

सूर्यदर्शन सेवा संचालनको पहिलो दिन नै सूर्योदय हेर्न जाने आन्तरिक पर्यटकहरुको संख्या वृद्दि हुनुका साथै मौसम पनि सफ़ा रहेकोले सराङकोट पुग्नेहरुमा प्रशन्नता छाएको अनुभुती राससका फोटोपत्रकार राधिका कँडेलले गरेकी थिईन । यति बेला केवलकार चढ्नेहरु आन्तरिक पर्यटकहरु नै धेरै रहेको र विदेशी पर्यटकको आगमन नेपालमा बढेपछि उनिहरुको समेत संख्या बढ्ने अपेक्षा केवलकार व्यवस्थापनको छ ।

महाप्रबन्धक पौडेलका अनुसार विहान १० बजेबाट ५ बजेसम्म सेवा संचालन हुदा पनि ५/६ सय जना जतिले दिनहुं यात्रा गर्ने गरेकोमा समय थप हुंदा र सुर्यदर्शन सेवा थप हुंदा संख्य बढेको छ । केवलकारसंगै अन्य मनोरन्जनात्मक र साहसिक ईभेन्टहरु थप गर्ने तर्फ पहल भएको मात्र नभएर यांत्रुकालागि नया प्याकेज ल्याउने सन्दर्भमा पनि छलफल भैरहेको छ ।

सेदीबगरदेखि सराडंकोटसम्म केवलकारमा पुग्न करिब १० मिनेट मात्र लाग्छ र फेवाताल सहित प्राकृतिक सुन्दरता अवलोकन गर्दै सराडंकोट पुग्न सकिन्छ । केवलकारमा आवत जावत गर्न कम्पनीले नेपालीका लागि रु ७ सय, सार्क राष्ट्रका पर्यटककालागि रु ८ सय र तेस्रो मुलुकका नागरिकका लागि नौ डलर भाडादर तय गरेको छ ।

पोखरा र काठमाडौँका प्रतिष्ठित व्यवसायीको लगानी रहेको अन्नपूर्ण केवलकारको लगानी दुई अर्ब रुपैयाँ पुगेको अन्नपूर्ण केबलकार प्रालिका सञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए । कम्पनीमा स्थानीयवासीबाट २५ प्रतिशत र विभिन्न व्यवसायीबाट ७५ प्रतिशत लगानी रहेकाे छ ।