कहिले चढ्न पाइन्छ धरहरा ?

-



     सफल आवाज    
     चैत्र २ गते २०७८ मा प्रकाशित


सबै तस्बिरहरु : अशोक तामाङ


काठमाडौं, २ चैत । १ वर्षअघि अर्थात् गत वैशाख ११ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले हतार हतारमा धरहराको उद्घाटन गरे । उद्घाटनमा ‘धरहरा चढ्दा आइफेल टावर चढेको महसुस भएको’ भाषणसमेत ठोके । उनको भाषणमा ६ महिनाभित्रै धरहरा सर्वसाधारणका लागि खुला गरिने थियो ।

ओलीको भाषण प्रत्यक्ष वा टीभीको पर्दामा सुनेका जनताले भने अहिलेसम्म धरहरा चढ्न पाएका छैनन् । निर्माण कम्पनीका अनुसार भने निर्माण सम्पन्न हुन अझै १ वर्ष लाग्ने देखिन्छ । ४२ रोपनीमा फैलिएको धरहरा निर्माण कार्यको भौतिक संरचनामा ७८ प्रतिशत मात्रै सम्पन्न भएको निर्माण कम्पनी जीआइइटीसी रमन जेभीका इन्जिनियर तथा प्रोजेक्ट मेनेजर सञ्जय नकर्मीले बताए । ‘अहिले फिनिसिङको काम भइरहेको छ,’ सफल आवाजसँग कुरा गर्दै उनले भने, ‘अब पूर्ण रुपमा निर्माण सम्पन्न गर्न १ वर्ष जति लाग्न सक्छ । अहिले धरहरा र ग्राउण्डमा फिनिसिङको काम चलिरहेको छ ।’

राष्ट्रिय पुनर्निमाण प्राधिकरणले आफ्नो समयावधी सकिएको भन्दै सरकारलाई हस्तान्तरण गरेपश्चात् धरहरा निर्माणको जिम्मेवारी सहरी विकास मन्त्रालयलाई दिइएको छ । धरहराको बाहिर भाग पूर्ण रुपमा निर्माण पूरा भएको देखिए पनि भित्रपट्टि भने लिप्ट, फिनिसिङ, सिँढी, रङ रोगनलगायतका काम बाँकी छन् ।

यता निर्माण कम्पनीले भने तेस्रो लहरको कोरोना महामारीका कारण ढिलाई भएको बताएको छ । इन्जिनियर नकर्मीका अनुसार अहिलेसम्म निर्माण पूरा भइसक्ने अवस्था थियो । उनले भने, ‘कोरोना महामारीका कारण विभिन्न सामाग्री तथा मजदुर बाहिर जाँदा ढिलाई भएको हो ।’

भूकम्प आएको ३ वर्षपछि धरहराको निर्माण सुरु भएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरणले रमन कन्स्ट्रक्सनलाई ठेक्का दिएपछि २०७५ साल कात्तिकबाट काम सुरु गरिएको थियो । २०७७ सालको असोज २० गते सक्नुपर्ने गरी सम्झौता गरिएकोमा कोरोनाका कारण निर्माण अवधि लम्बिएको उनले बताए ।

पुरानो र नयाँ धरहराको आकार हेर्दा भने निकै फरक छ । पुरानोमा ९ तला रहेको धरहरा अहिले २२ तले भएको छ । धरहराको आगनमै २ तल्लाको अन्डरग्राउन्ड पार्किङ, मनोरम पार्क, ढुंगेधारा, म्युजिकल फाउन्टेन र चमेनागृह बन्ने भएका छन् । नयाँ धरहराको निर्माण लागत ३ अर्ब ४५ करोड लाग्ने छ भने धरहरामा तामाको गजुरलाई सुनले लेपन गरिएको छ । धरहराको२२ औं तल्लामा सिसाको बाल्कोनी बनाइएको छ, जहाँबाट उपत्यका नियाल्न सकिन्छ ।

पुनर्निर्माण कि नवनिर्माण ?

धराहरा पुनर्निर्माण कि नवनिर्माण भन्ने विषय भने लामो समयदेखि नै बहसको विषय बन्यो । भूकम्पबाट क्षतिग्रस्त धरहराको पुनर्निर्माण भनिए पनि नयाँ ठाउँमा नयाँ प्रविधिबाट बनेको भन्दै धेरैले नवनिर्माण भएको दाबी गरे । उक्त दाबीअनुसार भने पुनर्निर्माण प्राधिकरण र पूरातत्व विभाग पछि हट्नुपर्ने बताइयो । धरहरा निर्माणको जिम्मा प्राधिकरणले लिएपछि लामो समय बहसकै विषय बनेको थियो ।

कार्ययोजनामा धरहराको भग्नावशेषको ठुटो संरक्षण गर्ने र त्यसैको छेउमा नयाँ धरहरा बनाउने उल्लेख छ । ऐतिहासिक तथा पुरातात्विक स्थलहरूको संरक्षण तथा पुनर्निर्माण गर्ने आधिकारिक निकाय पुरातत्व विभाग हो । तर, पुनर्निर्माण भन्दै नवनिर्माणतिर लाग्नु यस विभागको अधिकार क्षेत्र नभइएको भन्दै इतिहासविद्हरुले प्राधिकरण तथा विभागको आलोचना गरेका थिए ।

तत्कालीन मुख्तियार भीमसेन थापाको पालामा वि.सं. १८८१ र ८२ मा दुई वटा धरहरा बनाइएको थियो । यी दुईमध्ये वि.सं. १८९० सालको भूकम्पले भीमसेन थापाको निवास वागदरबार छेवैको धरहरालाई पूर्ण रूपमा ध्वस्त पार्‍यो । ललितत्रिपुरासुन्दरीको नाममा निर्माण गरिएको धरहरामा भने केही मात्र क्षति भयो । तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले १९९२ सालमा ११ तले धरहरालाई ९ तलामा पुनर्निर्माण गरेका थिए ।

मुगल मिनारको नक्कलका रूपमा बनाइएको धरहरा कुन प्रयोजनका लागि निर्माण गरिएको भन्ने कुरा नखुलेपछि त्यहाँबाट बिगुल बजाउने गरिएको थियो । राणाकालमा बिगुल बजाउने क्रम २००७ सालसम्म चलिरह्यो ।

पुरानो धरहरामा केमिकल हालिने

भूकम्पबाट भत्किएको पुरानो धरहरा संरक्षणका लागि यसअघि सिसाको फ्रेमभित्र राख्ने भनिएको थियो । त्यसमा फेरि घाम पानीले असर पुर्‍याउन सक्ने भन्दै केमिकल प्रयोग गर्ने सहमति भएको थियो । केमिकल ट्रिटमेन्टबाट यथास्थितिमा राख्न सकिने सल्लाह आएको निर्माण कम्पनीले जनाएको छ ।

ट्रिटमेन्टका लागि सम्बन्धित विशेषज्ञ बोलाएर कस्तो खालको ट्रिटमेन्ट गर्दा भत्किएको धरहराको बाँकी भाग बिग्रिदैँन, त्यो विषयमा पुरातत्त्वविद्, सम्पदाविद्हरूको सुझावपछि काम गर्ने निर्माण कम्पनीले जनाएको छ ।

धरहराको इतिहास

नेपालमा धरहराको इतिहास भने २ शताब्दी पुरानो छ । विसं १८८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले काठमाडौंको केन्द्र भागमा एउटा अग्लो स्तम्भ निर्माण गर्न लगाएर त्यसको नाम धरहरा राखेका थिए । त्यस यताका १९७ वर्षमा धरहरा २ पटक ध्वस्त भयो । विसं १९९० सालको भूकम्पले ११ तल्ले धरहराको माथिल्ला २ तल्ला भत्काएपछि तत्कालिन प्रधानमन्त्री जुद्धशम्शेर राणाले बाँकी ९ तल्लालाई नै कायम राखेर जिर्णोद्वार गरेका थिए ।

भीमसेन थापाले आफ्नी महारानी त्रिपुरासुन्दरीदेवीको सम्झनास्वरुप निर्माण गरेको धरहरालाई त्यस बेलामा भीमसेन स्तम्भ पनि भन्ने गरिन्थ्यो । सञ्चार प्रविधिहरुको विकास नभइसकेकोले त्यस बेला धरहराको टुप्पोबाट बिगुल फुकेर सरकारका विभिन्न सूचना र आदेशहरुको जानकारी गराइन्थ्यो । विगुल बजेको सुनेपछि जंगी निजामति कर्मचारी कोतमा वा टुँडिखेलमा जम्मा हुनुपथ्र्यो । प्रजातन्त्रपछि भने सरकार निर्णयहरु मन्त्रिमण्डलबाटै सार्वजनिक हुन थाले ।