इन्सेक गण्डकीको शिक्षा, स्वास्थ्य र खाद्य अधिकार सम्बन्धि समन्वयात्मक बैठक पाेखरामा सम्पन्न

-



     सफल आवाज    
     चैत्र २ गते २०७८ मा प्रकाशित



पोखरा, २ चैत । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा पोखरामा चैत २ गते बुधबार “शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सवालमा सरोकारवालाहरुबीच समन्वयात्मक बैठक सम्पन्न भएकाे छ ।

कार्यक्रममा इन्सेक गण्डकीका संयोजक शिव प्रसाद खकुरेलले विषयवस्तु प्रवेश गराउँदै आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारको सवालमा काम गरिरहेको बताए । उनले यी अधिकारभित्र रहेका महत्वपूर्ण शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकारको क्षेत्रमा बिगत ९, १० वर्षदेखि काम गरिरहेको स्मरण गरे ।

इन्सेकले देशका ३५ जिल्लाका २, २ गाउँपालिकामा परियोजना संचालन गरिरहेको छ । खकुरेलले भने, गण्डकी प्रदेशका ५ जिल्ला कास्की, तनहुँ, स्याङजा, बागलुङ र नवलपुरमा संचालन भईरहेको छ । कास्कीको पोखरा महानगरपालिका तथा रुपा गाउँपालिकामा संचालन भईरहेको छ । स्थानिय समुदायलाई सचेत बनाउँदै अधिकार प्राप्तिका लागि पहुँचको बृद्धि र स्थानिय सरकारलाई जवाफदेहि बनाउनु उदेश्य रहेको छ। यसका लागि गठन भएका मानव अधिकार समूहहरुले समस्या पहिचान गर्ने र समाधानका लागि सरोकार राख्ने निकायसम्म माग दावि गर्दै आएको बताए ।

कार्यक्रममा मानवअधिकार समूह रुपा गाउँपालिकाका अध्यक्ष तीलक बहादुर क्षेत्रीले स्थानिय स्तरमा देखिएका समस्याको पहिचान, त्यसको गाउँपालिकासंग गरिने माग दावि र समाधानका बारेमा गाउँपालिकासंग समन्वय भईरहेको बताए ।

जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यले जनताको स्वास्थ्यलाई गाईड गर्ने संविधाननै भएकोले सोहि अनुसारको लक्ष्य प्राप्तिका लागि लागिपरेको बताए । आचार्यले स्वास्थ्य क्षेत्रको लगानी र त्यसको प्रतिफल वा सुधार तत्काल नदेखिने भएकोले राज्यको लगानी निरन्तर भईरहने बताए ।

भौतिक निर्माण गरे जस्तो, बाटो, पूलपुलेसा बनाएर देखिने जस्तो स्वास्थ्यको नतिजा तुरुन्त देखिन्न तर यसमा हुने निरन्तरको राज्यको लगानीले ५, १०, २० वा ३० वर्षपछि नतिजा दिने र त्याे पछि देखिने बताए । उनले स्वास्थ्य संस्थामा दिईने गरिएको ३५ प्रकारको औषधी निःशुल्क वितरण भईरहेको र समयमा पाईएन भन्ने गुनासो जायज भएको बताए । उनले भने, यो समस्या समाधानको प्रयास भईरहेको छ ।

शिक्षा समन्वय इकाईका प्रमुख नारायण प्रसाद सुवेदीले सबैलाई संविधानले शिक्षाको अधिकार दिएको बताउँदै प्रदेशमा कसैले शिक्षा पाउनबाट बन्चित हुनु परेको अवस्था नभएको बताए । तर विशेष अवस्था र परिस्थितिको कारण ३ प्रतिशत कम विद्यार्थी आधारभूत शिक्षा पाउनबाट टाढा रहेको बताए । उनले श्रम क्षेत्रका मानिसका बालबच्चाहरु शिक्षाबाट पछाडी परेको बताए । उनीहरु कामको कारण स्थान्तरण भईरहने हुनाले यो समस्या कायमै रहेको उनले बताए ।

खाद्य तथा गुण नियन्त्रण कार्यालय कास्कीका प्रमुख शिवजी वरालले उपभोक्तालाई गुणस्तरिय खाद्यवस्तुको प्राप्ति र उपभोग गर्न पाउने अधिकारको रक्षाका लागि आफुहरुले बजार अनुगमन गर्ने, खाद्यवस्तु नमूना जाँचका लागि पठाउने र अखाद्य वा मानिसको स्वास्थ्यलाई हानि गर्ने खाद्ययवस्तु बेचबिखन, उत्पादन वा नक्कलि लेवलिङको काम गर्नेलाई कारबाहिको दायरामा ल्याईएको बताए ।

वरालले अब छिट्टै पोखरामा प्रदेशस्तरिय प्रयोगशाला बन्न लागेको जानकारी पनि दिए । साथै वरालले उपभोक्तालाई सामान खरिद गर्दा म्याद गुज्रे नगुज्रेको हेरेर खरिद गर्न सुझाव दिए भने पसलहरुमा मूल्यसूची राख्न सुझाए ।

कार्यक्रममा सहभागिहरुले सरोकारवाला निकायका अधिकारीहरुसंग सम्बन्धित विषयमा आधारित प्रश्न र समाधानका उपाएबारे जानकारी लिएका थिए ।

कार्यक्रममा इन्सेक गण्डकीका कार्यक्रम अधिकृत सवनम शर्माले परियोजना संचालन भएका ठाउँबाट आएका सुझावहरु, संविधानले प्रत्याभूत गरेका अधिकारहरुको बारेमा प्रस्तुति राखेकी थिइन ।