युवालाई स्वरोजगार बनाउन विनाधितो कर्जा

-



     सफल आवाज    
     असाेज २ गते २०७७ मा प्रकाशित



खस्यौली, २ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले युवालाई उत्पादनसँग जोडेर स्वरोजगार बनाउन विना धितोमा सहुलियतपूर्ण कर्जा दिन शुरु गरेको छ । स्वरोजगार बन्न चाहने युवालाई नगरपालिकाले नेपाल बैंक लिमिटेडसँगको सहकार्यमा प्रतिव्यक्ति बढीमा रु चार लाख सहुलियतपूर्ण कर्जा लगानी गर्न थालेको हो ।

पहिलो चरणमा रु दुई करोड कर्जा प्रवाह गर्ने गरी नगरपालिकाले युवाहरुसँग गत वैशाख २४ गते उद्यम प्रस्ताव आह्वान गरेको थियो । प्रस्ताव पेश गरेका झण्डै ७०० मध्ये पहिलो चरणमा छनौट भएका ८७ लाई कर्जा दिन थालिएको हो । आज आयोजित कार्यक्रममा नगरप्रमुख वासुदेव घिमिरेले १५ लाभग्राहीलाई कर्जा प्रस्ताव–पत्र हस्तान्तरण गरी सहुलियत कर्जा वितरणको शुभारम्भ गरे । नगरप्रमुख घिमिरेले कर्जाको सदुपयोग गरी दिगो रुपमा व्यवसाय गर्न लाभग्राहीहरुलाई आग्रह गर्नुभयो ।

नगरपालिकाले आगामी दिनमा सहुलियत कर्जा वितरणलाई विस्तार गर्दै जाने जानकारी दिँदै उनले धितो राख्न नसक्ने निम्न आय भएकाहरुलाई लक्षित गरी यो कार्यक्रम शुरु गरिएको बताए । कोरोना महामारीको कारण रोजगारीका अवसर सङ्कुचित भैरहँदा नगरपालिकाले गत वैशाख २४ गते सहुलियतपूर्ण कर्जाको लागि प्रस्ताव आह्वान गरेको थियो । प्रस्ताव पेश गरेकामध्ये नगरपालिका र बैंकका प्रतिनिधि सहभागी छनौट समितिले कर्जाका लागि नाम सिफारिस गरेअनुरुप कर्जा वितरण थालिएको नेपाल बैंक लिमिटेड प्रदेश ५ का प्रमुख पासाङ दोर्जे शेर्पाले जानकारी दिए । उनका अनुसार तिलोत्तमामा चालू आवमा नगरपालिकासँगको सहकार्यमा थप रु आठ करोड सहुलियत कर्जा प्रवाह गर्ने योजना रहेकाे राससले लेखेकाे छ ।