५ अर्ब घट्यो वाणिज्य बैंकहरूको निक्षेप, कर्जा प्रवाह कति ?

-



     सफल आवाज    
     चैत्र ७ गते २०७८ मा प्रकाशित



काठमाडौं, ७ चैत । ४ दिनमै वाणिज्य बैंकहरूको ५ अर्ब रुपैयाँले घटेको छ । नेपाल बैंकर्स संघका अनुसार गएको फागुन ३० गतेदेखि चैत ४ गतेसम्म वाणिज्य बैंकहरूको निक्षेप ५ अर्बभन्दा बढी रूपैयाँले घटेको हो ।

बैंकहरूले चैत्र महिनामा ब्याज नबढाउने निर्णय गरेपछि निक्षेप पनि घटेको हो । फागुनको ब्याजदर नै चैत्र महिनामा लागू हुने गरी यथावत राखेपछि निक्षेप संकलन घटेको बैंकर्स संघले जनाएको छ । संघका अनुसार फागुन मसान्तसम्ममा ४३ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले चैत्र ४ गतेसम्ममा ५ अर्ब घटाएर ४३ खर्ब २८ अर्ब रुपैयाँ मात्रै निक्षेप संकलन गरेका हुन् ।

अघिल्लो ३ दिनमा भने वाणिज्य बैंकहरुको निक्षेप संकलन ७ अर्बले बढेको थियो । बैंकर्स संघका अनुसार फागुन २७ गते ४३ खर्ब २६ अर्ब निक्षेप संकलन भएको थियो भने फागुन ३० मा ३ दिनमै निक्षेप संकलन बढेर ४३ खर्ब ३३ अर्ब रुपैयाँमा पुगेको थियो । अघिल्लो सातामा भने बैंकहरुको निक्षेप संकलन २ अर्ब रुपैयाँ बढेको थियो ।

पछिल्लो ४ दिनको अवधिमा बैंकहरुले कर्जा प्रवाह पनि ४ अर्बभन्दा बढी रूपैयाँ घटाएका छन् । फागुन ३० गते ४१ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका बैंकहरुले चैत्र ४ गतेसम्ममा ४ अर्ब घटाएर ४१ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।

अघिल्लो ३ दिनमा भने बैंकहरूले कर्जा प्रवाह बढाएका थिए । फागुन २७ देखि ३० गतेसम्म ३ दिनको अवधीमा ३ अर्ब रुपैयाँ कर्जा प्रवाह बढेको थियो । गत साता पनि बैंकहरुको कर्जा १ अर्ब रुपैयाँ घटेको थियो ।