एफएनसीसीआइद्वारा वस्तुगत संघका नवनिर्वाचित टिमको स्वागत, निजी क्षेत्रका समस्या समाधानमा जोड

-



     सफल आवाज    
     चैत्र ८ गते २०७८ मा प्रकाशित



काठमाडौं, ८ चैत । नेपाल उद्योग वाणिज्य महासंघका सदस्य वस्तुगत संघका पदाधिकारीहरूले आफ्ना क्षेत्रका समस्या समाधानमा सहयोग गर्न महासंघलाई आग्रह गरेका छन् । महासंघको वस्तुगत परिषद्द्वारा नवनिर्वाचित अध्यक्ष एवं पदाधिकारीहरूको सम्मानमा आयोजना गरिएको बधाई एवं शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी संघका अध्यक्षहरूले सो आग्रह गरेका हुन् ।

हालै निर्वाचन सम्पन्न भएका महासंघका वस्तुुगत सदस्य संघहरु नेपाल निर्यात परिषद्, नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल वोटल वाटर उद्योग संघ, नेपाल मुद्रा विप्रेषक संघ, रेष्टुरेन्ट एण्ड वार एसोसिएसन, नेपाल र नेपाल पशुपन्छी औषधि व्यवसायी संघका अध्यक्ष एवं पदाधिकारीहरूलाई एक कार्यक्रमका बीच स्वागत एवं बधाई दिइएको थियो ।

कार्यक्रममा आफ्ना क्षेत्रका बारेमा कुरा राख्दै निर्यात परिषदका अध्यक्ष रेशमबहादुर पोखरेलले वस्तु विकास गरौं र निर्यात बढाऔं भन्ने कुरालाई एक अभियानका रुपमा अगाडि लैजान एक्लै नसकिने हुँदा यसमा महासंघको बलियो साथ आफ्नो संस्थाले खोजेको बताए । कच्चा पदार्थमा लाग्ने भन्सार महसुल, चर्को बैंक व्याजदर, ट्रान्जिटका लागि पाउने सुविधाहरू लगायतका विषयहरूमा पनि महासंघले पहल गरिदिन उनले जोड दिए ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले आफ्ना हक, हितको संरक्षण एवं समस्याहरूको समाधान गर्न एक्लो प्रयासले मात्र सम्भव नहुने भएकोले महासंघको साथ एवं सहयोग जरुरी भएको बताए । हाल निर्माण सामाग्रीमा भएको मूल्य बृद्धिलाई सम्बोधन गर्न सरकारसँग अनुरोध गरिएको र यसमा नेपाल उद्योग वाणिज्य महासंघको पहलको आवश्यकता रहेकोमा जोड दिए । साना उद्योगी व्यवसायीको हितका लागि सामुहिक ऐक्यवद्धता आवश्यक रहेकोमा पनि उनले जोड दिए ।

नेपाल बोटल वाटर उद्योग संघका महासचिव गोकुल थापाले उद्योग सञ्चालन गरेवापत फौजदारी अभियोगमा मुद्दा खेप्नु परेको अवस्था रहेकाले समस्या समाधानमा महासंघले पहलगर्नुपर्ने सुुझाव राखे । हाल राष्ट्रिय सभामा रहेको खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी विधेयक जस्ताको तस्तै पारित भए मुलुकभित्र खाद्यसँग सम्बन्धी कुनै पनि उद्योग व्यवसाय गर्न नसकिने अवस्था आउने पनि बताए । उनले यतिखेर पानी उद्योगीहरू चौतर्फी समस्या रहेको पनि उनले बताए ।

महिला उद्यमी महासंघ नेपालका अध्यक्ष निरु रायमाझी खत्रीले महासंघसँगको सहकार्यले महिला उद्यमी महासंघ, नेपालले उचाई लिन सफल भएको बताइन् । नीतिगत व्यवस्था, वित्तिय पहुँच, बजार प्रवर्द्धन, क्षमता अभिबृद्धि लगायतका विषयहरूमा सरकारसँग पहल गर्न महासंघको साथ र सहयोग आवश्यक भएकोमा जोड दिए ।

नेपाल विप्रेषक संघका अध्यक्ष चन्द्र टण्डनले विप्रेषण भित्र्याउन निजी क्षेत्रको ठूला भूमिका रहेकाले यसलाई सबल बनाउनेतर्फ पनि ध्यान दिनुपर्ने सुझाव राखे । अर्थतन्त्रको महत्वपूर्ण आधार रेमिट्यान्स क्षेत्रलाई सरकारले महत्व दिन थालेको उनले बताए । सरकारले दिने सानो सेवा सुविधा पनि यो क्षेत्रका लागि ठूलो अवसर हुने भएकाले यस किसिमका धेरै कुराहरूमा महासंघसँग सहकार्य गरी अगाडि बढ्नुपर्नेमा जोड दिए ।