
तस्वीर : अशेष शाक्य
‘वात्स्यायन’ नेपालका चर्चित कार्टुनिस्ट तथा कलाकार । जतिबेला बराल काठमाडौं बसाइँमा थिए, त्यो समयबाटै उनले कार्टुनहरु बनाउन सुरु गरेका थिए । एकजना सम्पादकले उनलाई पत्रिकाको लागि कार्टुन बनाउन अनुरोध गरेपछि उनले कार्टुन बनाउन सुरु गरेका हुन् । ५-७ वर्ष काठमाडौंमा बसेपछि बसाइँ धेरै लम्बिन सकेन । आर्थिक अभावको कारणले काठमाडौं छोड्नु पर्यो । त्यो बेलामा बरालको नाम र कार्टुन भने चर्चामा आउन थालिसकेको थियो । ‘वात्स्यायन’ नाम त चलिसकेको रहेछ । मान्छेहरुले भने मलाई दुर्गा बरालको नामले मात्र चिन्ने गर्दथे उनी भन्छन् ।
बितेका दिनको सम्झना गर्दै उनले भने, ‘२०२२ सालमा राष्ट्रिय नयाँ सन्देश साप्ताहिक पत्रिकामा काम सुरु गरेको थिएँ । त्यहाँ मेरो एउटा स्थायी स्तम्भ नै थियो । ‘नयाँ सन्देशको दृष्टिकोण बरालबाट’ भनेर एउटा स्तम्भ अन्तर्गत मैले कार्टुनहरु दिन्थेँ । त्यसपछि कार्टुनिस्टका रुपमै मलाइ चिन्न थाले । नाम चै कार्टुन छापिँदा पनि दुर्गा बराल नै हुन्थ्यो । सहीछाप पनि दुर्गा बरालकै हुन्थ्यो ।
पोखरा फर्किसकेपछि उनले पृथ्वीनारायण क्याम्पसमा कलाको काम पाए । शिक्षाशास्त्रमा कलासम्बन्धी पढाउने एकजना जर्मनी शिक्षककोे अध्यापन अवधि सकिएको रहेछ । उनी स्वदेश फर्किएछन् । र, त्यहाँ पढाउने मान्छे भएनन् । ‘क्याम्पस प्रमुखले ६ महिना जति पढाउनु पर्यो, पछि अर्को व्यवस्था गरौंला भनेपछि मैले शिक्षाशास्त्रमा कलासम्बन्धी अध्यापन गराउन सुरु गरेँ,’ वास्त्यायनले ती दिन सम्झे, ‘त्यसपछि फेरि अर्को ६ महिना थपियो । त्यसो गर्दागर्दै क्यापसमा मेरो २७ वर्ष पुग्यो । २७ वर्षपछि मैले राजीनामा दिएको हुँ ।’

त्यसपछि उनले केही समय पोखराको मोहोरिया टोलमा व्यावसायिक स्टूडियो चलाउँदै पत्रपत्रिकाहरुमा कार्टूनहरु पनि लेख्न थाले । ‘पोखराबाट निस्किने एउटा पत्रिकामा कार्टुन छाप्न थालेपछि फेरि काठमाडौंमा राष्ट्रपुकार पत्रिकासम्म सम्पर्क भयो । कार्टुनहरु पठाउन थालेँ । राष्ट्रपुकारमा पनि मेरो नाम दुर्गा बराल नै भनेर आउथ्यो,’ उनले भने ।
‘पञ्चायतकाल थियो । क्यापसमा पञ्चायती विचार राख्ने मान्छेहरु पनि थिए । उनीहरुले आफ्नाभन्दा बाहिरकालाई नराम्रो दृष्टिले हेर्ने, जागिरबाट निकालिदिने, करारमा छ भने करारको अवधि नथपिदिने गर्थे । कहिले बाहिर सडकमा भेट्यो भने विद्यार्थीहरु आएर पिटिदिने खतरा पनि थियो । पञ्चायतको अति जगजगि थियो । अरुको विचार सुन्नै नपाइने, सुन्नै नदिने, बोल्नै नदिने लेख्नै नदिने एकदम कडा परिस्थिति थियो । क्यापसमा पनि विरोध हुन्थ्यो । विद्यार्थीहरुले विरोध गर्थे । यो चैँ पञ्चायत पक्षधर, अराष्ट्रिय तत्व वा राष्ट्रिय तत्वको समर्थक हो भनेर घोचपेच गर्थे । असहयोग गर्ने र अनेक किसिमका यातना दिने काम भइरहन्थे,’ उनले तीतो यथार्थ सम्झन्छन् ।
‘त्यसबेलाको अराजक समयमा दुर्गा बराल भनेर क्याम्पसमा कला पढाउने मान्छे नै कार्टुन लेख्ने मान्छे हो भन्ने कुरा विद्यार्थी र शिक्षकहरुले थाहा पाए भने त खतरा हुन्थ्यो,’ उनले भने, ‘अलिकति असुरक्षित हुन्छु भन्ने पनि लागेकै हो । कति शिक्षकहरु निकालिए र पिटिए । त्यो अवस्था देख्दा नाम बदलेर छद्म नाममा काम गर्ने विचार आयो । त्यसपछि मैले ‘वात्स्यायन’ भन्ने नाम राखेर काम सुरु गरेको हो ।’
यसरी जुर्यो नाम
‘वात्स्यायन’ नाम एकजना नेपाली शिक्षकले जुराएका हुन् । यो नाम राखेपछि मलाई किन ‘वात्स्यायन’ राखेको ? यो त यौनसँग, यौनका ज्ञातासँग सम्बन्धित छ भन्नेहरु निस्किए । तर तिनै शिक्षकले सम्झाए ‘यौन पनि कलाभित्र नै पर्छ । ‘वात्स्यायन’ भन्ने कलाकार ६४ वटा कलाका ज्ञाता थिए । ती ६४ कलामा मानिसले गर्ने सबै प्रकारका कलाहरु पर्दछन् । ललितकला, चित्रकला, नाट्य कला, बाध्यकला । सम्पूर्ण कलाको ज्ञाता नै ‘वात्स्यायन’ हो भनेपछि यो नाम राख्न तयार भएको हुँ । अहिले बरालको यही नाम नै स्थायी बन्यो, उनले भने ।
सिर्जना यात्रा
कलिलो बालक । अक्षर पनि नचिनेको । अँगार र खरी देख्यो कि घरका भित्ता, चौडा छपनीवाला ढुंगामा अंगारले चित्रहरु बनाइहाल्ने । यस्तो अभ्यास १० वर्षको उमेरसम्म भयो । ‘त्यो समयमा स्कुल जाने विद्यार्थीले सिसाकलम बोकेको देख्थे । त्यसले चित्र बनाउन सजिलो हुन्छ कि भनेर किनेर ल्याएँ अनि सुरु भयो पेन्सिल आर्टको काम । केही समयपछि मसी पनि आयो र कहिलेकाँही मसीको प्रयोग गर्न थालेँ,’ उनले विगत स्मरण गरे ।
चित्रकलाका लागि आवश्यक सामग्री अभाव हुन थाल्यो । कालो रङ्ग दिने पेन्सिलसँगै अरु रङ्गहरु चलाउन पाए झनै राम्रो हुने ठानेर कलर पेन्सिल प्रयोग गर्न थालेँ । यत्तिले पनि कहाँ पुग्थ्यो र ? रङ्गहरु र कुचीको चाहना भयो । तर सबै सामान काठमाडौंमा पाइने । त्यहाँबाट मगाएर चित्रको काम गर्दै आएँ । यो समय २०१६ सालतिरको हो ।
पानी रङ्गका चित्र बनाउने बानी परिसकेको थियो तर सामग्री अभाव भयो । काठमाडौंमा पनि भनेको बेलामा नपाइने भएपछि २०३२-०३३ सालमा भारतको गोरखपुर गएर चित्रकलाका लागि रङ्ग, कुची र हाते कागज ल्याएर पनि बरालले आर्टलाई निरन्तरता दिइरहे ।
अहिले आर्टमा नयाँ–नयाँ माध्यम विकास भएर आयो । एक्रेलिक आएको छ । सुरुमा पानी रङ्गका चित्र, तेलचित्र एकमद लोकप्रिय भए । अहिले पनि छन् । धेरै आर्टिस्टले तेलचित्र बनाउँथे । अहिले पनि कतिपय कलाकारहरुले तेल रङ्गको प्रयोग गर्छन् । विश्वमा यो १००-१५० वर्षभन्दा पुरानो भइसक्यो । एक्रेलिक र तेल उस्तैउस्तै हुन्छ । तेलचित्र र एक्रेलिक हेर्दा उस्तै देखिन्छ तर त्यो रङ्ग लगाउने टेक्निक अलि फरक हुन्छ । त्यसकारण अचेल धेरैजसो कलाकारहरुले चलाउने प्रिय रङ भनेको एक्रेलिक हो ।

वात्स्यायन ७८ वर्षका भए । बुढ्यौली उमेरमा पनि उनको सिर्जनाको यात्रा निरन्तर छ । सिर्जनालाई उमेरले छेकबार लगाउन सक्दैन भन्ने गतिलो उदाहरण बनेका छन्, उनी । कलाकार वात्स्यायनले गम्भीर भएर भने, ‘कलिलो उमेरदेखि नै अँगार र खरीले चित्र कोर्न सुरु गरेको थिएँ । अहिले पनि व्यावसायिक कार्टुनको साथमा पानी रङ्ग र तेल रङ्गका चित्रहरु बनाइरहेको छु । हालसम्म ५ हजार चित्रहरु बनाइसकेका बरालले कम्तीमा ५ हजार देखि ८० हजारसम्मको मूल्यमा चित्रहरु बिक्री गरिरहेका छन् । कति त साथीभाइलाई गिफ्ट दिए । वात्स्यायनका अहिलेसम्म काठमाडौंमा ६ पटक एकल प्रदर्शनी र सामूहिक रुपमा १ सय ५० वटा चित्रकलाका प्रदर्शनी भइसकेका छन् ।
वात्स्यायनका चित्रहरु जापान, बंगलादेश, भारत, जर्मनी, स्वीट्जरल्याण्डमा प्रदर्शन भइसकेका छन् । चित्रहरु सोच, सिर्जनशीलता र आकर्षक कसरी बनाउने भन्ने बारेमा ग्राफिक्सले पनि महत्व राख्ने रहेछ । अग्रज कलाकार लैनसिं वाङदेल, कालिदास श्रेष्ठ लगायतका कलाकारले गरेका कामबाट हुटहुटी जाग्यो । अनि २०२५ सालमा ग्राफिक्स तालिमका लागि जापान गएँ । ३ महिना तालिम लिएर आएँ,’ उनले भने, ‘तालिमले व्यावसायिक रुपमा चित्र बनाउन धेरै सघाउ पुर्यायो ।’
‘समय सन्दर्भ एउटै हुँदैन । कहिले के पर्छ, कहिले के पर्छ । जीवनमा जे आइपर्छ त्यसलाई सामना गरेर जानुपर्छ भन्ने मेरो मान्यता रहेको छ,’ उनले भने, ‘मानिसहरु ७८ वर्षको उमेरमा पनि किन थकाइ नमारेको ? भन्छन् । तर मलाई अहिले झन् जाँगर लागेर आउँछ । आफनै घरको स्टूडियोमा रङ्ग र कुचीसँग क्यानभाषका चित्रहरुमा अनेक कोणबाट सौन्दर्य खोजिरहन्छु । ६÷७ महिनादेखि बनाउन बाँकी चित्रहरु कोरिरहेको छु । धेरै अर्डर आएको थियो । केही पूरा गरेँ । केही बाँकी छन् ।’
वात्स्यायनका कार्टुन जसले हलचल मच्चाए
उनले २०२२ सालमा आफ्नो जीवनको पहिलो कार्टुन नयाँ सन्देश पत्रिकामा छापेका थिए । जसमा राजनीतिक व्यङ्ग्य गरिएको थियो । २०२२ सालबाट कार्टुन बनाउन थालेका उनले हालसम्म झण्डै ८ हजार कार्टुन बनाइसकेका छन् ।
उनीसँग बसाइँमा आफूले बनाएका कार्टून छापेपछि केही घटनाक्रमले तरङ्ग पैदा गरेका उनले स्मरण गरेका छन् । भन्छन्, ‘कार्टुन सांकेतिक रुपमा हुन्छ, जो कोरिएको चित्रबाटै भन्न खोजेको कुरा छर्लङ्ग हुने गर्दछ ।’
‘२०४६ सालतिर होला, एकपटक देशान्तर साप्ताहिकमा अदालतसँग संकेत गरेको कार्टून छापिएको थियो । अदालतले लौ अदालतको मानहानी भयो भनेर सम्पादकलाई बोलायो । अदालत गएर अदालतको मानहानी हुने आशयको कार्टूनबाट व्यङ्ग्य गरिएको कुरा मानहानी गर्ने आशयको होइन भनेर प्रष्ट्याउनु परेको घटना पनि सम्झने गर्छु’ कार्टुनिस्ट वास्त्यायनले भने ।
अर्को छ, २०४८-२०४९ सालमा गोरखापत्रमा ६ महिना काम गर्दा अविश्वासको प्रस्तावका सम्बन्धमा एउटा कार्टुन छापिएको थियो । त्यो बेला एमालेले गिरिजाप्रसाद कोइरालाविरुद्ध संसदमा अविश्वासको प्रस्ताव लगेको थियो । कार्टुन छापिएपछि संसदमा एमालेले हंगामा मच्चायो । जनताको राजश्व खाएर सरकारी सञ्चारमाध्यमको दुरुपयोग गर्ने ? भनेर विरोध भयो । पछि त्यसबेलाका सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ताले संसदमै गएर स्पष्टीकरण दिनुपरेको घटना पनि निकै सम्झने गरेको वात्स्यायन बताउँछन् ।
२०६३ सालमा उनको एउटा कार्टुन संवैधानिक राजतन्त्रको विरोधमा छापिएको थियो । त्यो बेलामा कान्तिपुरलाई खुबै प्रेसर परेको थियो । आर्मी नै लगेर राख्यो नि प्रकाशन गृहमा । यहाँसम्म भयो कि सम्पादकको कोठामा पुगेर सम्पादकीय के लेखे भनेर हेर्ने गर्थे । सम्पादक नारायण वाग्ले थिए । मलाई खबर आयो, प्रकाशक, सम्पादक र कार्टुनिस्टलाई गिरफ्तार गर्ने तयारीमा छन् गिरफ्तारी दिने मनस्थितिमा रहनु होला भने । उनले भने, मैले घरमा सल्लाह गरें र सबै जनालाई नडराउनु भनेर सम्झाएँ ।

कार्टुन संवैधानिक राजतन्त्रको विरोधमा छापिएपछि एक महिनासम्म सरकारी सञ्चारमाध्यमले दिनदिनै टीकाटिप्पणी गरे । गलत कार्टुन, गलत व्यङ्ग्य भनेर छापे र भने पनि । कारबाही गर्नुपर्छ पनि भनेर सरकारपक्षीय नेताहरुलाई बोल्न पनि लगाए । उनले भने, एउटा व्यक्तिले त तत्कालीन बेलायतमा राजा कीन लुईबारे कार्टून बनाएकोले कार्टुनिस्टलाई मृत्युदण्ड दिइएको थियो । त्यसको हवाला दिँदै नेपालमा पनि कारबाही गर्नुपर्ने उस्तै आशयको कुरा त अखबारमै छापिएको थियो ।
डाक्टर बन्ने सपना, बने कलाकार
बुबा हरिवंश बराल, आमा कलावती बरालका जेठा छोरा दुर्गा बराल ३ दाजुभाइ, ३ दिदिबहिनीमध्ये जेठा हुन् । उनका जेठो छोरा अनुप बराल, माहिलो अनिल बराल, कान्छो अजित बराल र छोरी अनिता बराल छन् । जेठा अनुप कलाकार हुन् भने कान्छा अजित फाइन प्रिन्टका संचालक हुन् । यीनै चर्चित कलाकार वास्त्यायन २५ वर्षदेखि कान्तिपुर राष्ट्रिय दैनिकमा ‘वात्स्यायन’ नाममा कार्टुनसँगै जोडिएका छन् ।
वात्स्यायनको पढाइको कुरा पनि गज्जवै छ । २०१८ सालमा मल्टीपर्पोज स्कुलबाट एसएलसी गरे । तर पास अंकमात्रै आयो । अध्ययनमा तगडा नै थिए । ८ कक्षाको फस्ट ब्वाइ । ९ कक्षा पढ्ने बेलामा टाइफाइडले थलिएपछि ९ को परीक्षा घरमै किताब हेरेर पास गरे । यसको असर एसएलसीमा परेछ । उनले भने, ‘फेल त भइनँ तर राम्रो अंक आएन । त्यो समयमा पीएन क्याम्पसमा भर्खर साइन्स पढाइ सुरु भएको थियो । हाम्रो दोस्रो व्याच हो । सपना डाक्टर बन्ने थियो । आइएससीमा भर्ना भएर १ वर्ष के पढेका थियौं, त्रिभुवन विश्वविद्यालयले साइन्स पढाउन स्वीकृति दिएन ।’ उनले पछि २०२४ सालमा आइए प्राइभेट र २०३५ सालमा पीएन क्याम्पसबाट बीएसम्म अध्ययन पूरा गरे ।
जिन्दगीको यूटर्न
साइन्स पढ्न नपाएपछि जिन्दगीको मोड अलि फरक भयो । त्यसबेला डा. एलियामा जोनले वायोलोजी पढाउँथिन् । डा. एलियामाले भनेको कुरा बरालले सम्झे, ‘बराल तिमी कार्टुनिस्ट कलाकार । तिम्ले आर्ट पढ । भारतमा छात्रवृत्तिमा पढ्न जान पाइन्छ, जाऊ भनेपछि काठमाडौं हानिएँ । २०२० सालदेखि २५ सालसम्म ४ पटक छात्रवृत्तिको लागि अन्तर्वार्ता दिएँ तर सफल हुन सकिनँ ।
वर्षमा एउटा कोटा आउने । त्यो कोटामा को–को पर्ने पर्ने म चाहिँ परिनँ । त्यो समयमा लैनसिं वाङ्देल, कालिदास श्रेष्ठ र भारतीय दूतावासका प्रतिनिधिले अन्तर्वार्ता लिएको सम्झना छ ।’
विदेश गएर आर्ट पढ्ने मोह भङ्ग भयो । आफ्नै बलबुताले नेपालमै कलाकार बनेरै छाड्छु भन्ने आत्मबल बनाएँ । काठमाडौंमा रहेका अमेरिकी तथा भारतीय लाइब्रेरीमा पुगेर कलाबारे अध्ययन गर्न थाले । अग्रज कलाकारका स्टूडियोमा गएर चित्र बनाएको अनुभव लिएँ । यसो गर्दा ५ वर्ष बितिसकेछ । २०२७ सालतिर अर्थको चरम अभाव भयो । घरबाट पनि खर्च धान्न निकै गाह्रो भएपछि पोखरा फर्किएँ,’ उनले भने ।
‘मलाई बाल्यकालको दर्दको कुरा सम्झना भइरहन्छ,’ उनले भने, ‘३ वर्षको हुँदा आमाले संसार छोडेर जानुभयो । बेसहारा बनेको मलाई फुपूले लगेर पाल्नुभयो । उहाँ एकल महिला । उनलाई पनि निकै गाह्रो थियो । ९ वर्षको भएपछि फुपूले पोखरास्थित मामाघरमा लगेर राख्नुभयो । त्यही मामा गिरधारी पराजुलीसँग हुर्किएँ । ९ वर्षको उमेरदेखि मामाघरमा बसेको यो दुर्गा बराल वात्स्यायनलाई हेर्नोस् म यहीँको यहीँ छु, । यहीँ थलो नै मेरो पुर्खौली भएको छ ।’
(वार्तामा आधारित)






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



