फेरि १ लाख माथि पुग्याे सुनको भाउ, चाँदीमा पनि बृद्धि

-



     सफल आवाज    
     चैत्र १० गते २०७८ मा प्रकाशित



काठमाडौं, १० चैत । साताको सुनचाँदीको कारोबार हुने पाचौं दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउमा बृद्धि भएको छ । छापावाला सुनमा यसदिन तोलामा रुपैयाँ १,१०० ले र चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छपावाला सुन तोलामा रुपैयाँ १ हजार १०० ले बृद्धि भई तोलाको १ लाख ३०० रुपैयाँमा कारोबार भई रहेको छ । बुधबार छापावाला सुन तोलाको ९९ हजार २०० रुपैयाँमा काराेबार भएकाे थियो ।

तेजाबी सुन तोलाको ९९ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुनको भाउ तोलाको ९८ हजार ७०० रुपैयाँ निर्धारण गरिएको थियो ।

महासंघका अनुसार चाँदीमा सामान्य रुपैयाँ ५ ले बृद्धि भई तोलाको १ हजार ३७५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदीको भाउ तोलाको १ हजार ३७० रुपैयाँ तोकिएको थियो ।