नेपालकै पहिलो कृषि कर्जा मेला सुरु, कृषिलाई अर्थतन्त्रको ड्राइभर बनाउने अपेक्षा

-



     सफल आवाज    
     चैत्र १० गते २०७८ मा प्रकाशित



चितवन, १० चैत । नेपाल र एशियाकै पहिलो तथा विश्वको दोस्रो कृषि कर्जा मेला चितवनमा सुरु भएको छ । चैत १२ गतेसम्म आयोजना हुने मेलाको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्घाटन गरे । चितवन एक्स्पो सेन्टर भरतपुरमा मेला सुरु भएको हो ।

कृषि यान्त्रिकीकरण प्रदर्शनीको पाँचौं संस्करणमा कृषि कर्जा मेला आयोजना गरिएको हो । मेलालाई आर एन्ड डी इनोभेटिभ सोलुसन र नेपाल कृषि मेशिनरी व्यवसायी संघले संयुक्त रुपमा आयोजना गरेको हो । मेलाको मुख्य प्रायोजकको रुपमा नबिल बैंक र कृषि विकास बैंक हुन् । मेलाको उद्घाटन गर्दै गभर्नर अधिकारीले राज्यको नीति अर्थतन्त्रको ड्राइभर कृषि क्षेत्रलाई बनाउन खोजे पनि त्यसो हुन नसकेको बताए । अधिकारीले राज्यको नीति कृषिलाई अर्थतन्त्रको ड्राइभर बनाउन खोजिए पनि अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान क्रमश घट्दो गएको स्वीकारेका हुन् ।

‘राज्यको नीति हेर्दा अर्थतन्त्रको ड्राइभर कृषि क्षेत्रलाई बनाउन खोजिएको देखिन्छ, तर अर्थतन्त्रको ड्राइभर भने रेमिट्यान्स हुन खोजिहेको छ,’ अधिकारीले भने, ‘कृषि र त्यसको इकोसिस्टमसँग गाँसिएको समस्या निकै जटिल छन् । युवामा कृषि प्रमुख पेशा हुनसक्छ, परिवार धान्न र कमाउन सक्छु भन्ने आत्मविश्वास जगाउनुपर्छ ।’

अधिकारीले कृषिको लागि आत्मविश्वास मात्रै भएर नहुने भन्दै जमिन, सिचाई, बिउ, मल, विषादी र प्रविधिकको व्यवस्था पनि हुनुपर्ने बताए । ‘उत्पादनलाई बजारीकरण पनि चाहिन्छ, बजारीकरणका लागि उचित सप्लाइ चेन चाहियो,’ उनले भने, ‘कयौं ठाउँमा त्यो चनेमा ब्रेक भएको पाउँछौं, जसले गर्दा कृषि सही दिशामा अगाडि बढ्न सकेको छैन ।’

कृषि क्षेत्रको विकासको लागि राज्यबाट चालिएका कदमहरु कमी भने नरहेको उनले बताए । ‘राज्यले सहुलियतपुर्ण कर्जा, राष्ट्र बैकले २०८१/८२ सम्मको कुल कर्जाको १५ प्रतिशत कर्जा कृषिमा लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । मलमा करिब ५५ प्रतिशत अनुदान सरकारले दिएको छ,’ उनले भने, ‘त्यही पनि के मिलेको छैन, जसले गर्दा सोचअनुसार कृषिबाट अर्थतन्त्रले योगदान पाउन सकेको छैन । कृषक सन्तुष्ट भएका छैनन् ।’

उनले कृषि क्षेत्रमा केही परिवर्तन भएको बताए । ‘विदेशबाट फर्केर आएको कयौं युवाले आफ्नो सीपको क्षेत्रमा गरेको लगानी धेरै ठूलो छ । कृषिलाई व्यवसायीकरण गर्ने र कृषिमा आत्मनिर्भरतर्फ मुलुक उन्मुख छ,’ उनले भने, ‘एक दशक अगाडि बैंकहरुले कृषि कर्जालाई सबैभन्दा जोखिखमयुक्त रुपमा लिने गरेका थिए,’ उनले विगत सम्झँदै भने, ‘अहिले साना तथा कृषि कर्जा डुब्दैन भनेर बैंकहरु नै कृषिमा कर्जा लगानी गर्न आकर्षित भएका छन् । कृषिमा १५ प्रतिशत लगानी गर्नै पर्छ भनेर पनि बैंकहरु त्यतातिर निर्देशित भएका छन् ।’

उनले कृषि क्षेत्रमा कर्जा विस्तार हुँदै जाँदा कतिपय ठाउँमा गलत प्रयोग भएको छ कि भन्ने गुनासो आउने गरेको भन्दै तस्तो घटना सानो संख्यामा मात्रै रहेको हुनसक्ने बताए । ‘कृषि कर्जाको दुरुपयोग सानो संख्यामा भएको हो, त्यो लेखा परीक्षणको सिलसिलमा बाहिर आउँछ र कारवाही हुन्छ, समग्रमा कृषि कर्जा सकारात्मक अवस्थामा छ ।’

कृषि क्षेत्रमा रातारात परिवर्तन नभए पनि विस्तारै परिवर्तन हुने बाटोमा रहको उनले बताए । सरकारले कृषिको दीर्घकालीन २० वर्षे रणनीतिलाई कार्यान्वयन गरिरहेको भन्दै भोलिका दिनमा कृषिमा धेरै हदसम्म आत्मनिर्भर हुने लक्ष्य रहेको उनले बताए ।