सर्लाहीबाट ३ अर्ब १८ करोड बढीको तरकारी निकासी

-



     सफल आवाज    
     असाेज ४ गते २०७७ मा प्रकाशित


फाइल तस्वीर


सर्लाही, ४ असोज । सर्लाहीको लालबन्दीबाट आर्थिक वर्ष २०७६-०७७ मा रु तीन अर्ब १८ करोड २६ लाख ८० हजारको तरकारी निकासी भएको छ ।

लालबन्दी, ईश्वरपुर र हरिवन नगरपालिकालगायतका स्थानको झण्डै एक हजार बिघा जमिनमा उत्पादन गरिएको तरकारीलाई देशका विभिन्न जिल्लामा निर्यात गरिएको कृषि बजार व्यावस्थापन समिति लालबन्दीले बताएको छ ।

कार्यालयले गोलभेँडा उत्पादनको मुख्य क्षेत्र लालबन्दीबाट वार्षिक ५० प्रतिशत गोलभेडा निकासी हुने गरेकाे जानकारी दिएको छ । यस्तै पर्वल २५ प्रतिशत, बोडी १० प्रतिशत, सिमी १० प्रतिशत र भिण्डी, काउली, बन्दा, भान्टा, घिरौँला, झिँगनी, लौका, फर्सी, मुलालगायतका तरकारी पाँच प्रतिशत निकासी भएको छ ।

परम्परागत अन्नबाली छोडेर सर्लाहीका किसानले एक हजार बिघा जमिनमा व्यवसायीकरुपमा तरकारी खेती गरेको र मुनाफा कमाउन सफल भएकाे कृषि ज्ञान केन्द्र मलङ्गवाले बताएको छ ।