
नेपाली पुँजीबजारमा एक परिचित नाम हो, राधा पोखरेल । दशक अघिदेखि पुँजीबजारमा रहेकी पोखरेल पछिल्ला केही वर्षबाट लगानीकर्ताहरुको नेतृत्व समेत गरिरहेकी छिन् । हाल नेपाल पुँजीबजार लगानीकर्ता संघ अध्यक्ष रहेकी पोखरेल नेपालका सक्रिय महिला लगानीकर्ताहरु मध्येमा अग्रपंक्तिमा पर्छिन् ।
उनले लगानी गर्ने र कमाउने मात्रै होइन लगानीकर्ताको हकहितका लागि पनि आवाज उठाउँछिन् । उनले शेयर बजारमा प्रवेश गर्न चाहने नयाँ लगानीकर्ताहरुलाई बजारबारे सचेतना जगाउने काम पनि गर्दै आएकी छिन् । संघको नेतृत्व गरिरहेकी पोखरेलले पछिल्लो समय संघलाई देशव्यापी बनाउँदै लगेकी छिन् । उनले नेतृत्व गरेको संघको अहिले सबै प्रदेशमा शाखा समेत विस्तार भइसकेको छ । संघकी अध्यक्ष राधा पोखरेलसँग शेयर बजारका विविध विषयमा सफल आवाज डटकमका लागि रेबिका आचार्यले गरेको कुराकानीको सम्पादित अंशः
वर्तमान शेयर बजारलाई कसरी हेर्नुहुन्छ ?
पछिल्लो समय कोभिड–१९ (कोरोना भाइरस) का कारण विश्व नै आक्रान्त छ । त्यसको प्रत्यक्ष असर नेपालमा पर्ने नै भयो । कोभिड नियन्त्रण गर्न सरकारले लकडाउन गर्यो । लकडाउनपछि सबै क्षेत्रहरु बन्द भए । अन्य क्षेत्रमा लगानी गर्ने सम्भावना भएन ।
यस्तो महामारीका बेला अन्य क्षेत्रमा लगानी गर्ने ठाउँ नहुँदा पुँजीबजारमा त्यसको प्रभाव पर्यो । अन्य क्षेत्रमा जाने लगानी पनि पुँजी बजारमा आयो । अन्यत्र लगानीको ठाउँ नभएपछि कहाँ लगानी गर्ने त भन्दा शेयर बजार । एउटा यो कुरा राम्रो भयो । अर्को विषय भनेको नेपाली शेयर बजारमा धेरै निस्क्रिय लगानीकर्ताहरु थिए । निस्कृय लगानीकर्ताहरु बन्दाबन्दीका बेला सक्रिय भए । शेयर बजार नबुझेकाले पनि फुर्सदका बेला बुझ्ने मौका पाए । निस्कृयहरु सक्रियमात्रै भएनन् नयाँ लगानीकर्ता पनि थपिए । जसका कारण शेयर बजारमा राम्रै असर गर्यो । बजार घट्ने वा बढ्ने त भइरहन्छ । यो समान्य प्रक्रिया हो । समग्रमा भन्नु पर्दा अहिलेको बजार राम्रै छ ।
भनेपछि कोभिडको असर पुँजीबजारमा सकारात्मक परेको भन्नुभएकाे हो ?
सकारात्मक नै असर गर्यो । छिमेकी मुलुक भारतकै शेयर बजार हेर्दा थाहा हुन्छ । भारतको बजार शुरुमा घटेको थियो । पछि बढ्दै गयो । नेपालमा पनि राम्रै दिशामा अघि बढिरहेको थियो । नेपालमा अन्य क्षेत्रमा लगानी गर्ने ठाउँ छैन । शेयर बजार नै विकल्प बन्यो । बैंक तथा वित्तीय संस्थाहरुमा तरलता थुप्रियो । लगानी हुनुपर्ने रकम लगानी भएन । जसका कारण बैंकको ब्याजदर पनि घट्यो ।
लकडाउन, निषेधाज्ञाकै बेला भए पनि लगानीकर्ताहरुले कारोबार गर्न पाए । ब्रोकर कार्यालयसम्म पुग्नु परेन । यसले गर्दा शेयर बजारमा आकर्षण देखिएको छ । अनलाइन कारोबार गर्ने पहिले १२ हजार युजर थिए भने अहिले ८० हजारभन्दा धेरै पुगिसकेका छन् । यसले पनि बजारमा लगानीकर्ताको आकर्षण छ भन्ने देखाउँछ ।
देशमा बन्दाबन्दीकै बीचमा बजार खुलाउने कि नखुलाउने भन्ने विषयमा लगानीकर्ताहरु नै दुई भागमा विभाजित थिए । तपाईहरुले नै पनि सुरुमा बजार बन्द गराउनुपर्ने कुरा उठाउनु भएको थियो होइन र ?
हामीले त्यतिबेला नखोलौ भन्ने प्रस्ताव राखेका थियौँ । हामीले व्यवस्थित गरेर बजार खुलाउनुपर्छ भन्ने धारणा राखेका हाैं। हाम्रो चाहना भनेको पुँजीबजारको विकास र विस्तार हो । सबै लगानीकर्तासँग अनलाइन प्रणालीको सहज पहुँच हुनुपर्छ भन्ने हाम्रो भनाइ हो ।
शेयर लगानीकर्ता १८ लाखकाे हाराहारीमा थिए । लगानीकर्ताहरुको संख्याको तुलनामा अनलाइन युजरहरु एकदमै कम थिए । फेरी अनलाइनमा पनि समस्या आइरहेको थियो । अनलाइन राम्रोसँग चलेको थिएन । लकडाउनका कारण काठमाडौंबाहिर गएकाहरु काठमाडौं आउन समस्या थियो । अमेरिका जानुभन्दा काठमाडौं भित्रन निकै अप्ठेरो पर्ने अवस्था थियो । अब काठमाडौंबाहिर गएकाहरु गाउँमा बसेर अनलाइन कारोबार गर्न सक्ने अवस्था थिएन।
साना लगानीकर्ता र बाहिर रहेकाको पहुँचमा पुगोस् भनेर हामीले बजार बन्द राख्नुपर्छ भनेका थियौं । अब समस्या आउँदैन, खोल्नुपर्छ भन्ने कुरा आयो । जेहास् पछिल्लो समय कारोबार राम्रै भएको छ । फेरि लगानीकर्ता भनेको काठमाडौं वरीपरी अथवा सिंहदरबार नजिकैका मात्रै होइनन् । मनाङ–मुस्ताङदेखि ग्रामीण भेगका सबै लगानीकर्ताहरु नै हुन्। सबै लगानीकर्ताले सहज तरिकाले कारोबार गर्न पाउनुपर्छ भन्ने हाम्रो कुरा थियो । जेहोस् पछिल्लो समय निकै राम्रो भएको छ ।
लगानीकर्ताको नेतृका हिसाबले भन्नुपर्दा नेपाली पुँजीबजारमा केकस्ता कमजोरीहरु देख्नुहुन्छ ?
नेपाली पुँजीबजारमा समस्याहरु धेरै छन् । जुन कुरा हामीले पटकपटक उठाउँदै पनि आएका छौं । तर अहिलेको प्रमुख समस्या भनेको अनलाइन प्रणाली नै हो । जतिबेला अनलाइन आयो त्यतिबेला हामीले यतिधेरै समस्या आउँला भन्ने सोचका थिएनौँ । अनलाइन प्रणालीमा धेरै समस्या आएपछि हामीले बृहत् छलफलहरु गर्यौ । पछि अर्थमन्त्रालयमा एउटा समिति गठन भयो । त्यसको एउटा सदस्य म पनि थिएँ । हामीले ५८ बुँदामा सुझाव दिएका थियौँ । धेरै सुझावहरु कार्यान्वयन भएका छन् । केही कार्यान्वयन हुने क्रममा होलान् । तर अनलाइनको समस्या धेरै नै भयो । अहिले पनि बेलाबेलामा समस्या देखिरहन्छ ।
नेप्सेले ल्याएको अनलाइन प्रणालीका विषयमा आन्दोलन नै भयो, के–कारणले अनलाइन प्रणालीमा समस्या आइरहेको होला र यसकाे समाधान कसरी गर्न सकिएला ?
अनलाइन प्रणालीका विषयमा हामीले त बाहिरबाट हेर्ने मात्रै हो । हामीले नेप्सेमा यो विषयमा कुरा गरिरहेका छौँ । पहिले ब्रोकरले सिस्टम अपग्रेट गर्नुपर्छ भन्ने कुरा आयो । निकै ठूलो समस्या आएपछि भारतबाट प्राविधिक भित्र्याएर काम गराइयो भन्ने कुरा गरियो । पछि म आफै गएर सेवोनमा बुझे । अनलाइनबाट कुरा गरेर काम गरिएको भन्ने जानकारी पाएँ । जे–जसरी कुरा होस् समस्या समाधान हुनुपर्यो । कहिले मार्केट डेब्थ देखाउँदैन । कहिले के देखाउँदैन । यो समस्या आएको आयै गर्छ । यो चाहिँ साह्रै दुःखको कुरा भयो ।
यस्तो समस्या आउन नदिन नियामक निकायले ध्यान दिनुपर्छ भन्ने मलाई लाग्छ । नेपाली पुँजीबजारमा धेरै सुधार गर्नुपर्ने भएको छ । अनलाइन ल्याइयो अब त्यसलाई सबैको पहुँचमा पुर्याउन पनि भूमिका खेल्नुपर्छ । दार्चुलाको नागरिकको हातमा भर्खर मोवाइल पुगेको छ । अब उसले कसरी चलाउँछ अनलाइन ? त्यहाँ पनि सिकाउनु पर्यो ।
शेयरसम्बन्धी साक्षरताको धेरै कमी छ । यसलाई व्यापक बनाउनुपर्छ । पुँजीबजार विस्तार र विकासका लागि अझै ध्यान दिनुपर्छ भनेर मागहरु उठाइरहेका छौंँ । हाम्रा मागहरु समयमा नै कार्यान्वयन हुने हो भने समस्या बढ्ने थिएन । हाम्रा मागहरु डस्विनमा थुपारिन्छ । २०३३ सालदेखि शुरु भएको बजारको हालत अहिले पनि उस्तै छ । सधैँ समस्या आयो भनेर चुप लागेर बस्ने भन्दा पनि समस्या पहिचान गरी समाधान गर्नेतर्फ सोच्नु पर्छ जस्तो लाग्छ ।
ब्रोकर कमिशन पनि घटाउनुपर्छ भन्ने आवाज बेलाबेला उठिरहन्छ ? के ब्रोकर कमिशन घटाउने बेला भएको हो त ?
अर्थमन्त्रालयलाई हामीले दिएको सुझावमा अनलाइन पूर्णरुपमा कार्यान्वयन भएपछि ब्रोकर कमिशन घटाउनुपर्छ भनेका छौं । पहिलो कुरा अनलाइनको समस्या समाधान गर्नु पर्यो । त्यसपछि तपशिलका कुराहरु हुँदै जान्छन् । पुँजीबजारमा अन्य धेरै समस्या छन् अनलाइन पछि अन्य समस्याहरु क्रमिक रुपमा सुधार हुनुपर्छ ।
पुँजी बजारका सबै समस्याहरु के-कसरी समाधान गर्ने भन्ने विषयमा सबै पक्षले ध्यान दिनु जरुरी छ । म एक युवा लगानीकर्ता र लगानीकर्ताहरुको नेतृ समेत भएका कारण अब बजारमा युवा पुस्ताको पनि प्रवेश हुनु पर्छ भन्ने लाग्छ । मेरो युवाहरुलाई सुझाव पनि छ, शेयर बजारमा लगानी गर्नुस् । युवा अवस्था भनेको अनावश्यक रुपमा खर्च गर्ने र डुल्ने हिड्नेमात्रै होइन । यो बेलादेखि नै बचतको रुपमा शेयर बजारमा लगानी गर्नुभयो भने भबिष्यमा राम्रो प्रतिफल पाइन्छ ।
अब अहिले थोरै रकमले व्यापार व्यवसाय गर्न सकिन्न । तर शेयर बजारमा थोरै रकमबाट पनि काम गर्न सकिन्छ । ठूलो रकम नै चाहिँदैन । यसकारण युवाहरुलाई म बजारमा लगानी गर्न आग्रह गर्न चाहन्छु । पढिरहेकाहरुले पनि पढाइसँगै शेयर बजारमा लगानी गर्न शुरु गर्न सक्छन् ।
युवा पुस्तालाई त तपाईको सुझाव पनि आइहाल्यो, अब शेयर बजारमा प्रवेश गर्न चाहने नयाँ लगानीकर्ताहरुका लागि पनि केही सुझाव छन् कि ?
शेयरबजार बुझेरमात्रै लगानी गर्नुपर्छ । नयाँ लगानीकर्ताहरुले प्रवेश कुन बेला गर्ने अर्थात् कस्तो बेला शेयर किन्ने भन्ने ख्याल गर्नुपर्छ । बजार बढ्यो भनेर मात्तिने र घट्यो भनेर आत्तिनु हुँदैन । बजार बढेको देखेर किनिहाल्नु हुँदैन । बजार घटेका बेला किन्ने हो । बजार बढेका बेला आत्तिएर किनिहाल्ने र शेयर बजार घट्यो भनेर लौ हिजो सुन थियो अब पित्तल हुने भयो भनेर बेचिहाल्नु पनि भएन । बजार विश्लेषण गरेर काम गर्दा घाटा बेर्होनु पर्दैन ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



