देशभर १३२५ संक्रमित, ९६६ निको

-



     सफल आवाज    
     असाेज ४ गते २०७७ मा प्रकाशित



काठमाडौं, ४ असोज । नेपालमा गएको २४ घण्टामा १ हजार ३ सय २५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले गएको २४ घण्टामा देशभर १ हजार ३ सय २५ जना संक्रमित थप भएको जानकारी दिए ।

यो सहित देशभर संक्रमित हुनेको कुल संख्या ६४ हजार १ सय २२ जना पुगेका छन् ।

आइतबार थपिएका संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकाकै छन् । जसमा काठमाडौंमा ६ सय २, भक्तपुरमा १ सय १ र ललितपुरमा ६४ गरी ७ सय ६७ जनामा संक्रमण पुष्टि भएको हो । गएको २४ घण्टामा देशका विभिन्न ल्याबमा ९ हजार ५ सय ८४ पीसीआर गरिएको थियो ।

यस्तै, सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय ७८ जना पुगेका छन् । जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार ७१ छन् ।

हालसम्म ४६ हजार २ सय ३३ जना निको भएका छन् । गएको २४ घण्टामा ९ हजार ६६ जना निको भएका हुन् । निको हुनेको दर ७२ प्रतिशत पुगेको छ ।