आन्तरिक उडानले पोखरा विमानस्थलमा चहलपहल

-



     सफल आवाज    
     असाेज ५ गते २०७७ मा प्रकाशित



पोखरा, ५ असोज । कोरोना भाइरस (कोभिड–१९) संक्रमण जोखिम नियन्त्रणका लागि सरकारले ६ महिनादेखि रोकेको आन्तरिक हवाइ उडान सोमबारदेखि सुरु भएको छ । उडान सुरुसँगै पर्यटकीय नगरी पोखरास्थित पोखरा विमानस्थलमा चहलपहल सुरु भएको छ ।

बुद्ध र यति एयरलाइन्सले काठमाडौं–पोखराको लागि सोमबार ४ उडान गरेका छन् । बुद्ध एयरको जहाज ६ महिनापछि ५ बच्चासहित ५६ यात्रु बोकेर बिहान करिब ९ बजे पहिलो पटक ल्याण्ड भएको हो ।

बुद्ध एयरका पोखरास्थित स्टेशन इञ्चार्ज गौतम बरालका अनुसार कुल ७२ सिटे जहाजमा आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै ५६ यात्रु आएकोमा पुनः पोखरा–काठमाडौं उडानका लागि ९ बजेर ४५ मिनेटमा ५८ यात्रु बोकेर उडेको छ । यात्रुको चाप हेरेर आगामी दिनमा विस्तारै उडान संख्या बढाउँदै जाने गौतमले बताए ।

त्यस्तै, बुद्धपछि काडमाडौंबाट पोखराका लागि यति एयरलाइन्सले उडान भरेको हो । ३० सिट क्षमतामा सबै सिट भरिएको थियो । एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार देशभर यतिले सोमबार १० उडान गर्नेछ ।

पोखरा नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी देवराज सुवेदीले कोरोना भाइरसविरुद्ध आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर उडान थालिएको बताए । उनका अनुसार विगतमा पोखरा विमानस्थलबाट हवाइजहाज, हेलिकोप्टर र अल्ट्रालाइट गरी एक सय वटासम्म उडान हुने गर्दथे । विमान कम्पनीबाट मात्रै सरदर ४० उडान हुने गरेको थियो । अहिले करिब २५ प्रतिशत उडान हुनेछन् ।

त्यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वास्थ्य सुरक्षाका मापदण्ड निर्धारण गरी उडान गर्न एयरलाइन्सहरुलाई अनुमति दिएसँगै करिब २५ प्रतिशत संख्यामा उडान भर्न थालिएको हो ।

विमानस्थलको भीड व्यवस्थापन तथा माग आधारमा उडानको कोटा निर्धारण गरिएको छ । उडान गर्दा यात्रुले अनिवार्य रुपमा मास्क प्रयोग गर्नुपर्ने छ । विमानस्थलभित्र वास प्वाइन्ट राख्नुपर्ने छ भने फेसशिल्ड समेत विमान कम्पनीले यात्रुलाई उपलब्ध गराउनुपर्नेछ । जसको लागत यात्रुको टिकटमै जोडिएको हुन्छ ।