सिवाईसी नेपाल लघुवित्तले ल्यायो करिब ४ करोड रुपैयाँ बराबरको आईपीओ बिक्रीमा

-



     सफल आवाज    
     वैशाख २ गते २०७९ मा प्रकाशित



काठमाडौं, २ वैशाख । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आजबाट आईपीओ निष्काशन तथा बिक्रीमा ल्याएको छ । लघुवित्तका अनुसार ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता सेयर बिक्रीमा ल्याईएको हो ।

जारी पूँजीको ०.५ प्रतिशत ६ हजार ८२ कित्ता सेयर कर्मचारीको लागि रहेको छ । यस्तै ५ प्रतिशतले हुने १९ हजार ७६६ कित्ता सेयर सामूहिक लगानी कोषका लागि रहेको छ । सर्वसाधारण लगानीकर्ताले यसबाट बाँकी रहन आउने ३ लाख ६९ हजार ४८८ कित्ता सेयरमा आवेदन दिन पाउने छन् ।

सेयरमा लगानी गर्न चाहनेले छिटोमा वैशाख ६ गते तथा ढिलोमा वैशाखको १६ गतेसम्म आवेदन दिन पाउने छन् । लगानीकर्ताले घटिमा १० तथा बढिमा १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउने छन् ।

लघुवित्तको चुक्ता पूँजी ८ करोड २१ लाख ८ हजार २४० रुपैयाँ रहेको छ । सेयर बिक्रीपछि लघुवित्तको चुक्तापूँजी १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँ पुग्ने भएको छ ।

सिवाईसी लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।