निर्वाचनमा बालबालिकालाई प्रयोग नगर्ने दलहरुको प्रतिबद्धता

-



     सफल आवाज    
     वैशाख १० गते २०७९ मा प्रकाशित



पाेखरा, १० वैशाख । कास्कीमा कृयाशिल राजनीतिक दलका नेताहरुले स्थानीय तहको निर्वाचनमा वालवालिकालाई प्रयोग नगर्ने बताएका छन् । उनीहरुले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।

आज वैशाख १० गते शनिबार बालबालिका शान्ती क्षेत्र राष्ट्रिय अभियान(सिजप), इन्सेक, सिविन र जागृती बाल तथा युवा सरोकार केन्द्रको संयुक्त आयोजनामा स्थानीय तहको निर्वाचन र वालबालिकाका सवाल बिषयक अन्तरक्रिया कार्यक्रममा नेकपा (एमाले), नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपा लगायतका दलहरुले निर्वाचनमा वालवालिकाको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका हुन् ।

राजनीति दलका प्रमुख र वालअधिकारका सवालमा कृयाशिल सरोकारवालाको सहभागिता रहेको कार्यक्रममा स्वागत् भनाई राख्दै इन्सेक गण्डकी संयोजक शिव खकुरेलले कुनै पनि बहानामा राजनीतिक कार्यक्रममा प्रयोग गर्न हुँदैन भनेपनी सुधार हुन नसकेको बताए। उनले जुनसुकै निर्वाचनमा बालवालिका र विद्यालयको प्रयोग नगर्न राजनीतिक दलहरुलाई आग्रह गरे। दलिय घोषणापत्रमा बालबालिकाका सवाललाई समेट्न आवश्यक रहेको उनको भनाई थियो ।

नेकपा एमाले कास्की अध्यक्ष मन वहादुर गुरुङले पार्टीको प्रतिबद्धता पत्र र घोषणा पत्रमा बालबालिका अधिकारलाई समेटिएको बताउँदै त्यसलाई कार्यन्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे। वालवालिकाको दुरुपयोग गर्नेलाई कारवाही गर्न आफुहरु तयार रहेको उनको भनाई थियो ।

नेपाली काङ्ग्रेस कास्की सहसचिव नवीन सिग्देलले बालबालिकाका अधिकारलाई सुनिश्चित गराउन आफू र आफ्नो दल प्रतिबद्ध रहेको बताए। ‘जति कुरा बोल्छौ त्यसलाई कार्यन्वयन गर्न प्रतिबद्ध छौ’, उनले भने ।

नेकपा माओवादी केन्द्र पोखरा महानगर अध्यक्ष हरिनारायण गिरीले वालवालिकालाई गलत प्रयोग गर्न नदिने दायित्व सबैको रहेको बताउदै वालवालिकाले राजनीतिक रुपमा सचेत बन्न पाउने अधिकार बारेपनी सचेत बन्नुपर्ने भनाई राखे । ‘कुनैपनी बहानामा बालबालिकाको दुरुपयोग गर्न रोकौ तर बालबालिकालाई राजनीतिक रुपमा सचेत बन्न रोकौ भन्ने तर्क चाहिँ नगरौं’, उनले भने। कानुनले तोकेका मापदण्डका बिषयमा आफुहरु सचेत गरेको उनको भनाई थियो ।

नेकपा एकीकृत समाजवादी कास्की उपाध्यक्ष डिवी राईले आचारसंहितामा प्रतिबद्धता जनाउँदै वालवालिकाको प्रयोगलाई शुन्यमा झार्न सबैको भूमिका रहने बताए ।

राप्रपा कास्की प्रवक्ता हरि ढकालले बालबालिकालाई राजनीतिक सहभागी गराउने काम घरबाटै हुने गरेको भन्दै बा-आमाहरुलाई पनि कानुनी रुपमा सचेत गराउन आवश्यक रहेको बताए।

कार्यक्रममा सिजपका अध्यक्ष राजेश शर्माले निर्वाचन आचारसंहिता र वालवालिका बिषयक प्रस्तुतिकरण गर्दै निर्वाचनमा बालबालिकाको प्रयोग कानुनी रुपमै बन्देज गरिएको बताउदै राजनीतिक दलहरु गम्भीर बन्नुपर्ने बताए।

राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रमुख चन्द्रकान्त चापागाईंले राजनीतिदलले निर्वाचन आचारसंहितालाई सम्बोधन र कार्यन्यवनका लागि प्रतिबद्धता जाहेर मात्रै गर्ने नभई ब्यबहारिक रुपमा लागू गर्न आवश्यक रहेको बताए। पछिल्ला निर्वाचनमा बालबालिकाहरुको प्रयोग न्यूनीकरण हुँदै गएको भन्दै निर्मुल पार्न आवश्यक रहेको उनको भनाई थियो ।

अधिकारकर्मि रामचन्द्र पौडेलले अझै पनि वालवालिकालाई जुलुस तथा र्यालीहरुमा प्रयोग गर्ने परम्परा तोडिन नसकेको बताए । विद्यालयमा दलको भातृ संगठन खोल्न प्रधानमन्त्री शेर वहादुर देउवाबाट आव्हान गरिनु निकै दु:खद रहेको भन्दै उनले राजनीतिक नेतृत्व नै वालवालिकाका सवालमा गम्भीर बन्न नसकेको बताए।

वालगृह संजालका केन्द्रिय महासचिव विजय प्रधानले राजनीतिक दलहरुले वालवालिकाको प्रयोग नगर्ने प्रतिवद्दता गरेर स्थानीय तहका राजनीति दलका कमिटीलाई पनि सर्कुलर गर्न आवश्यक रहेको बताए।

शान्तिका नागरिक समाजकाे संजाल संयोजक विना सिलवालले निर्वाचन आचारसंहितामा राजनीतिक दलहरुको प्रतिवद्द्ता आवश्यक रहेको बताइन। निर्वाचनको माहोललाई प्रयोग गर्ने गरि वालवालिकाहरुमाथी यातना र हिंसा गर्नेहरु सक्रिय बन्ने गरेको भन्दै त्यस्ता ब्यक्तीलाई संरक्षण गर्न नहुने उनको भनाई थियो ।

शिक्षिका भगवती तिमिल्सिनाले विद्यालयमा निर्वाचन केन्द्र तोकिने परम्परालाई हटाउन आवश्यक रहेको बताइन । कार्यक्रममा पोखरा महानगर वालमन्चको तर्फबाट राजनीतिक दललाई वालवालिकाका सवाललाई घोषणा पत्रमा समेट्न सुझाव पत्र हस्तान्तरण गरिएको थियो ।