बालबालिकाका सुनका गहना लुट्ने महिला पक्राउ

-



     सफल आवाज    
     असाेज ७ गते २०७७ मा प्रकाशित



काठमाडौँ, ७ असोज । महानगरीय प्रहरी वृत बौद्धले बालबालिकाका गहना लुट्ने एक महिलालाई पक्राउ गरेको छ । उपत्यकाका विभिन्न स्थानमा गई बालबालिकाको नाक, कान, घाँटीकमा लगाएका सुनका गहना लुट्ने ३२ वर्षीया सङ्गिता क्षेत्रीलाई प्रहरीले माकलबारीबाट पक्राउ गरेको हो ।

म्याग्दी स्थायी घर भई काठमाडौँ बालाजु डेरा गरी बस्ने क्षेत्रीले बालबालिकालाई फकाएर चकलेट, आइसक्रिम किनेर दिदैं सुन लगायतका धातुका गहना लुट्ने गरेको महानगरीय प्रहरी वृतका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए । प्रहरीको खोजीकाे सूचीमा रहेकी ति महिलाले सुन लुटेको भन्दै उपत्यकाका विभिन्न प्रहरी कार्यालयका गरी २२ पीडित बालबालिकाका अभिभावकले उजूरी दिएका थिए ।

प्रहरीले चोरीका गहना किनबेचमा संलग्न रहेको भन्दै एक जनालाई पक्राउ गरी अनुसन्धान पनि थालेको बताएकाे छ । बिनाविलका चोरीका गहना अभियुक्त क्षेत्रीले ललितपुरमा दर्ता नभएकाे सुन पसलमा लगेर बेच्ने गरेको तथ्य प्रहरीले फेला पारेको बताएकाे छ ।

काभ्रे घर भई ललितपुर बस्ने ३० वर्षीय मुरली विकले ललितपुर महानगरपालिका–६ कनिबहालमा अवस्थित बिनादर्ता चलाउँदै आएको सुन पसलमा चोरीका गहना सस्तो मूल्यमा किनेर स्वरुप परिर्वतन गरी बेच्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको राससले लेखेकाे छ ।