नयाँ रेल आएपछि विवाहपञ्चमीमा जनकपुर जाने सर्वसाधारणको धोको

-



     गोेपालप्रसाद बराल    
     असाेज ८ गते २०७७ मा प्रकाशित



महोत्तरी, ८ असोज । नेपालमा नयाँ रेल आएपछि सर्वसाधारणले नयाँ रेल चढ्ने धोको कहिले पूरा होला भनेर पर्खिरहेका छन । उनिहरु जनकपुर जान निकै उत्साहि भएका छन । “अई बेर विवाहपञ्चमीतक रेल चल्वे करत”, यसपालि त विवाहपञ्चमीसम्म रेल चल्छ । भङ्गाहा नगरपालिका–३ कटैया बस्तीकी रामराजी यादवले पूरै विश्वासले भनिन ।

“मेला देख कुर्था सऽ जनकपुर रेल चैढ्क जायब”, विवाहपञ्चमी मेला हेर्न कुर्था, महोत्तरी–धनुषा सीमा नजिकको नयाँ रेल स्टेशनबाट जनकपुर रेल चढेरै जाउँला । असोज २ गते रेलसेट, इञ्जिन र डिब्बासहित रेल जनकपुर आएपछि कुर्था नजिकको महोत्तरीका बस्तीमा अब चाँडै रेल चढ्न पाइने कुराले सबैमा उत्साह बढेको हो ।

बर्दिवास–जनकपुर–जयनगर रेल्वे परियोजनाको ६९ किलोमिटर दूरीमध्ये कुर्थादेखि जयनगरसम्मको लिक निर्माण गत वर्ष नै सम्पन्न भए पनि रेलसेट नहुँदा सेवा सञ्चालन हुनसकेको थिएन । यसपालि असोजमै भारतबाट किनिएको रेलसेट आएपछि कुर्था नजिकका बस्तीमा मङ्सिर शुक्ल पञ्चमीमा आयोजना हुने रामजानकी विवाह महोत्सवको अवसरमा विवाहपञ्चमी मेलामा रेल चढेर जनकपुर पुग्न पाइने सर्वसाधारणमा आशा र विश्वास बढेको हो ।

महोत्तरीका लोहारपट्टी, बलवा र भङ्गाहा नगरपालिकाका बस्ती कुर्थासँगै जोडिएका छन । दुई दशकअघिसम्म जयनगर–जनकपुर–बिजलपुरा चल्ने रेलमा यात्रा गरेको सम्झने सर्वसाधारण ठूलो रेल आएको भन्दै हौसिएका छन । विसं २०५९ अघि जयनगर–जनकपुर–बिजलपुरा चल्ने रेलको महोत्तरीमा पिपराढी, लोहारपट्टी, सिङ्ग्याही र बिजलपुरा स्टेशन थिए । जहाँबाट रेल चढेर त्यस भेगका बासिन्दा बजार, धार्मिक प्रयोजनका कामले जनकपुर र जयनगरसम्म आवतजावत गर्थे । विसं २०५९ को बर्खे भेलले हालको लोहारपट्टी नगरपालिकाको बिगही पुल भत्काएपछि रेल सेवा बन्द भएको थियो ।

अहिले सानो लिकको ठाउँमा ब्रोडगेज लिक बनेको छ । यद्यपि कुर्थाबाट पिपराढी, लोहारपट्टी, सिङ्ग्याही र बिजलपुरा स्टेशनसम्मको लिक ओछ्याउने काम निर्माणकै चरणमा छ । अब दुई महिनाभित्र कुर्था–जयनगर खण्डको ३४ किलोमीटर दूरीभित्र सेवा सञ्चालन हुने र चालु आर्थिक वर्ष २०७७/०७८ भित्रै बिजलपुरासम्म सेवा सञ्चालन गरिने गरी काम भइरहेको नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले बताए ।

हामीकहाँ दुईवटा रेल आइपुगेका छन, रेल सञ्चालनका लागि आवश्यक जनशक्तिको माग हामीले विज्ञापन गरिसकेका छौँ, महाप्रबन्धक भट्टराईले भने, यो प्रक्रिया पूरा हुनासाथ प्रथम खण्ड कुर्थाबाट जयनगरमा रेल सञ्चालन भइहाल्छ । दोस्रो खण्ड कुर्थाबाट बिजलपुरा स्टेशनसम्मको १७ किमीमा यसै आर्थिक वर्षभित्र निर्माण कार्य सम्पन्न हुने र तेस्रो खण्ड बिजलपुरादेखि बर्दिवाको १८ किमी दूरीमा जग्गा मुआब्जा टुङ्ग्याएर निर्माणको काम थालिने भट्टराईको विश्वास छ ।

अहिले रेलसेट आइपुगे पनि जनशक्ति व्यवस्थापन, कोभिड–१९ जोखिमले रोकिएको नेपाल–भारत सीमा आवतजावत खुला गर्ने र रेललिक बरबुझारथका काम बाँकी रहेका छन । सेवा सञ्चालनमा केही महिना लाग्नसक्ने नेपाल रेल्वे कम्पनी लिमिटेडले स्पष्ट पारेको छ । रेल सञ्चालनका लागि अहिले तत्काल प्राविधिक जनशक्ति भारतबाटै ल्याउने र अन्य कर्मचारी व्यवस्थापनका लागि करारमा कर्मचारी भर्ना गर्ने प्रक्रिया अगाडि बढिसकेको महाप्रबन्धक भट्टराईले जानकारी दिए ।

कुर्थाबाट भारतको सीमावर्ती शहर जयनगरसम्म सञ्चालन हुने गरी ल्याइएको रेलसेट परीक्षणपश्चात जयनगरस्थित नेपाल रेल्वे स्टेशनमा पार्किङ गरिएको छ । आफ्नो क्षेत्रमा अब चाँडै रेल सेवा सञ्चालन हुने कुराले किसान आफ्नो उत्पादनले बजार पाउने आशमा रहेका छन । दूध, कृषि उपज र मासुका लागि पालिने पशुपंक्षी रेल चलेपछि भारतकै सीमावर्ती बजारसम्म दैनिक लान पाइने किसानको विश्वास रहेको छ ।

सन २०१४ मा भारत सरकारसँगको सम्झौतामा भारतकै रु सात अर्ब २० करोड अनुदान सहयोगमा थालिएको जयनगर–जनकपुर–बर्दिवास रेल्वे स्तरोन्नतिको काम सन २०१९ मै सकिनुपर्ने तालिका थियो । यद्यपि यसबीचका आन्दोलन, मधेश आन्दोलन, प्राकृतिक विपत्ति, भूकम्प, वाढी र जग्गा मुआब्जा प्रक्रिया नटुङ्गिँदा परियोजना सम्पन्न गर्न ढिलाइ भएको रेल विभागले स्वीकार गरेको राससले लेखेकाे छ ।फाेटाेःबलराम मिश्र(रेल विभागका महानिर्देशक)