नेप्सेमा छायो हरियाली, १ अर्ब ३५ करोड बढिको कारोबार

-



     सफल आवाज    
     वैशाख २७ गते २०७९ मा प्रकाशित



काठमाडौं, २७ वैशाख । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार सेयर बजारमा हरियाली छाएको छ । यसले लगानीकर्ताको उत्साह बढाएको छ । नेप्सेमा यसदिन ४४.१६ अंको बृद्धि भएको छ । तर कारोबार रकममा भने उल्लेखनिय प्रगति हुन सकेन ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४४.१६ अंकले बढेको छ । यसरी बढेको नेप्से २३१३ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.९५ प्रतिशतले बृद्धि भएको छ भने सेन्सेटिभ इण्डेक्स ७.६७ अंकले बढेर ४४७.१४ विन्दुमा पुगेको छ ।

कुल २२६ कम्पनीको सेयर कारोबार भएको छ । ३३ लाख ३० हजार १५० कित्ता सेयरको कारोबारबाट १ अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४६९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसदिन कुल १३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । उनीहरु सबैको सेयर बढेको छ । कारोबारको आधारमा सबैभन्दा बढि ङादी ग्रुप पावर लिमिटेडको कारोबार भएको छ । कम्पनीको ९ करोड ९८ लाख ३ हजार ७० रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।