सहुलियत कर्जाकाे ब्याज अनुदानमा १३ अर्ब ५९ करोड, स्वच्छ खानेपानीका लागि३७ अर्ब ३५ करोड विनियाेजन

-



     सफल आवाज    
     जेठ १५ गते २०७९ मा प्रकाशित



काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षमा सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान दिन १३ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको छ । विपन्न, दलित तथा पिछडिएको क्षेत्र, वैदेशिक रोजगारीबाट फर्किएका, लघु साना तथा मझौला, महिला उद्यमीले यस्तो कर्जा पाउने छन् ।

स्वच्छ खानेपानीका लागि रु ३७ अर्ब ३५ करोड बजेट

सरकारले देशभर स्वच्छ खानेपानीको व्यवस्थाका लागि रु ३७ अर्ब ३५ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसद्को संयुक्त बैठकमा पेश गर्नुभएको आर्थिक वर्ष २०७९/८० को बजेटमा देशभर स्वच्छ खानेपानीको पहुँच विस्तार गरिने उल्लेख छ । सरकारले आगामी आर्थिक वर्षमा मेलम्चीको पानी पथान्तरणका लागि स्थायी एवं भरपर्दो व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ ।

गत आवमै मेलम्चीको पानी राजधानीमा आइपुगे पनि अझै भरपर्दो पथान्तरणको व्यवस्था नहुँदा स्थायीरूपमा काठमाडौँमा पानी आपूर्ति हुनसकेको छैन । हेडवक्र्सको काम नसकिँदा वर्षायामसँगै आउने बाढीले गर्न सक्ने क्षतिका कारण पानी बन्द हुने गरेको छ । गत वर्ष मेलम्ची आएको बाढीले मुहान क्षेत्रमा पुगेको क्षति पुनःनिर्माण गरी यस वर्ष चैत अन्तिम साता फेरि मेलम्चीको पानी सुन्दरीजल ल्याई राजधानीवासीका धारामा वितरण सुरु भएको छ ।

यस वर्ष पनि वर्षा लागेसँगै सुरुङमा पानी बन्द गर्ने योजना खानेपानी मन्त्रालयले बनाएको छ । हाल मेलम्ची खोलाको १७ करोड ५० लाख लिटर पानी राजधानीमा वितरण भइरहेको छ । आगामी वर्षमा याङ्ग्री र लार्के खोलाको पानी राजधानी ल्याउन आवश्यक अध्ययन पूरा गरिने लक्ष्य पनि बजेटमा लिइएको छ । याङ्ग्री र लार्के खोलाको पानी पनि ल्याएपछि राजधानीमा दैनिक ५१ करोड लिटर पानी आउनेछ ।

याङ्ग्री र लार्केबाट पनि दैनिक १७–१७ करोड लिटर पानी राजधानी ल्याउने सरकारको योजना छ । काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधानका लागि राजधानी वरिपरिका स्रोतको अध्ययन भइरहेको खानेपानी मन्त्रालयले जनाएको छ । यी स्रोतबाट पनि केही अभाव पूर्ति गर्न सकिने जनाइएको छ ।

आगामी आवको बजेट : थप १० लाख पर्यटक भित्र्याइने

सरकारले आगामी वर्ष थप १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सरकारले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) मा थप १० लाख पर्यटक भित्र्याउने गरी कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

पर्यटनलाई आयआर्जन र समृद्धिको आधारका रूपमा लिएर विकास प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ । अर्थमन्त्री जनार्दन शर्माले पेस गर्नुभएको बजेटमा नेपालको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति र सभ्यतालाई विश्व पर्यटन बजारमा प्रवद्र्धन गरी पर्यटन क्षेत्रलाई आयआर्जन र आर्थिक समृद्धिको आधारका रूपमा विकास गरिने भनिएको छ ।

नेपालको भौगोलिक विविधता र एकतालाई पृथक र नवीन पर्यटकीय थलोका रूपमा विकास गरी नयाँ पुस्तालाई नेपाल भ्रमणका लागि आकर्षण गरिने छ । लिम्बू, राई, गुरुङ, थारू, कुमाल, राजवंशीलगायत जनजातिको मुख्य थलो, सांस्कृतिक र इतिहाससँग जोडिएका सङ्ग्रहालय आदिलाई आकर्षक पर्यटकीय केन्द्रका रूपमा विकास गरिनेछ ।

नेपाल विद्युत् प्राधिकरणले प्रिमियममा शेयर निष्काशन गर्ने

नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थभन्त्री जनार्दन शर्माले पेश गरेकाे आगामी आर्थिक वर्षको बजेटमा नेपाल विद्युत् प्राधिकरणको साधारण शेयर प्रिमियम मूल्यमा सर्वसाधारणका लागि जारी गरिने उल्लेख छ । अर्थमन्त्री शर्माले शेयर विनिवेशबाट प्राप्त रकम जलाशययुक्त आयोजना निर्माण र ऊर्जा पूर्वाधारमा लगानी गर्ने बताए। शेयर जारी गर्ने प्रयोजनका लागि नेपाल विद्युत् प्रधिकरणको क्रेडिट रेटिङ यसअघि नै सम्पन्न भइसकेको छ ।

‘एलपी ग्यास छाडौँ, बिजुली जोडौँ’

सरकारले आगामी दुई वर्षभित्र सबै नागरिकलाई विद्युत् सेवा उपलब्ध गराउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटअनुसार बिजुली नपुगेका सबै क्षेत्रमा दुई वर्षभित्र सबै घरधुरीमा बिजुली उपलब्ध गराउने घोषणा गरे। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण प्रणाली पुग्न सकेको छैन ।

ती जिल्लामा सहजरूपमा बिजुली उपलब्ध गराउन सरकारले बजेटमार्फत विशेष प्रबन्ध गरेको हो । देशभर कूल ९४ प्रतिशत घरधुरीमा बिजुली पुगेको छ । यस्तै सरकारले ‘एलपी ग्यास छाडौँ, बिजुली जोडौँ’ अभियानमार्फत पहिलो चरणमा सिंहदरबारबाटै खाना पकाउने ग्यास विस्थापन गर्ने कार्यक्रमको घोषणा गरे। आगामी साउदेखि नै सिंहदरबार परिसबाट ग्यास सिलिण्डर विस्थापन सुरु गरिने भएको छ ।

त्यस्तै आगामी तीन महिनाभित्र महानगरपालिका र उपमहानगरपालिकाका सार्वजनिक कार्यालय र निवासमा ग्यास सिलिण्डर हटाउने व्यवस्था बजेटमा गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यसअघि नै विद्युत् खपत बढाउनका लागि अभियानात्मक र प्रवद्र्धनात्मक कार्यक्रम अगाडि बढाउँदै आएको छ ।

ताप्लेजुङ—दार्चुला ग्रेट हिमालयन ट्रेलमार्फ जोड्न ३३ करोड बजेट विनियोजन

सरकारले ताप्लेजुङ–दार्चुला जोड्ने ग्रेट हिमालयन ट्रेलका लागि रु ३३ करोड विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज २०७९/०८० आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै ताप्लेजुङ–दार्चुला जोड्ने टे«लका लागि बजेट विनियोजन गरे । ग्रेट हिमालयन ट्रेल पर्यटकीय पदर्माग हो । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला हुँदै दार्चुला करिब एक हजार ७०० किलोमिटर भाग पर्छ ।

ग्रेट हिमालयन पदमार्गमा बन्ने संरचना पूर्वदेखि पश्चिमसम्म एउटै गुणस्तरको बनाउने सरकारको याजनाको रहेको छ । सोहीअनुसार यो बृहत् पदयात्रा मार्गका लागि विगतदेखि प्राथमिताका साथ सरकारले बजेट विनियोजन गर्दै आएको छ । नेपालभित्र मुख्य १० क्षेत्रहरुलाई समेटेर ग्रेट हिमालयन ट्रेलको अवधारणा ल्याइएको हो ।

विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल, मकालु वरुण, एभरेष्ट रोल्वालिङ, हेलम्बु लाङटाङ, गणेश हिमाल मनास्लु, अन्नपूर्ण मुस्ताङ, डोल्पा, रारा र जुम्ला, हुम्ला र सुदूरपश्चिमसम्म समेटेको छ । अहिले पदर्माग बनेसँगै पर्यटहरूको रोजाइमा समेत पर्दै गएको छ । अहिले विभिन्न भागमा विभाजन गरी पूर्वाधार निर्माण तथा प्रवद्र्धनको काम भइरहेको छ । गत वर्षको बजेटमा सरकारले सुदूरपश्चिमको दार्चुलादेखि पूर्वको ताप्लेजुङ जोड्ने हिमालयन हरित पदमार्ग रेखाङ्कन गरी पूर्वाधार निर्माण सुरु गर्ने कार्यक्रमलाई समेटेको थियो ।

६५५ स्थानीय तहमा अस्पताल निर्माणका लागि १० अर्ब

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ६५५ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेट पेश गर्नुहुँदै स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि रु १० अर्ब बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । सरकारले यसपटक स्वास्थ्य क्षेत्रमा रु ६९ अर्ब ३८ करोड बजेट विनियोजन गरेको छ ।

दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि नेपाल स्वास्थ्य क्षेत्र रणनीति २०७९–२०८७ कार्यान्वयन गरिने र पुराना, जीर्ण अवस्थामा रहेका स्वास्थ्य पूर्वाधारलाई नयाँ मापदण्डअनुसार निर्माण गर्नका लागि बजेट व्यवस्था गरिएको उल्लेख छ । पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर घटाउन सुरक्षित मातृत्व, शिशु स्याहार, पोषण कार्यक्रम, खोप कार्यक्रमलाई थप प्रभावकारी बनाइने बजेटमा उल्लेख गरिएको छ । अर्थमन्त्री शर्माले स्वास्थ्य संस्थाबाट प्रसूति सेवा उपलब्ध गराई मातृ मृत्युदर घटाई आमा सुरक्षा कार्यक्रमको रकम वृद्धि गरिएको उल्लेख गरे।