चुनावपछि बैंकहरूमा निक्षेप बढ्याे, २ सातामा १३ अर्ब थपियो

-



     सफल आवाज    
     जेठ १८ गते २०७९ मा प्रकाशित



काठमाडौं, १८ जेठ । स्थानीय तहको चुनावपछि बैंकहरुको निक्षेप संकलनमा केही सुधार देखिएको छ । चुनावपछिको दुई सातामा वाणिज्य बैंकहरूमा १३ अर्ब निक्षेप थपिएको छ ।

नेपाल बैंकर्स एसोसिएसनका अनुसार वैशाख ३० गतेसम्म वाणिज्य बैंकहरुमा ४३ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप रहेकोमा जेठ १३ गतेसम्म आउँदा ४३ खर्ब ८३ अर्ब पुगेको छ । चुनाव सकिएपछिको पहिलो साता निक्षेप ७ अर्ब बढेको थियो ।

आर्थिक वर्षको करिब अन्त्यतिर आउँदा सरकारी खर्च समेत बढेकाले बैंकको निक्षेपमा सुधार आएको हो । त्यस्तै बैंकहरुको कर्जा पनि सामान्य बढेको छ । एसोसिएसनको तथ्यांकअनुसार जेठको दुई सातामा ७ अर्ब थप कर्जा प्रवाह भएको छ ।

वैशाख ३० गतेसम्म ४१ खर्ब ९१ अर्ब रुपैयाा कर्जा प्रवाह भएकोमा जेठ १३ गतेसम्म ४१ खर्ब ९८ अर्ब पुगेको छ । निक्षेपमा सामान्य सुधार देखिए पनि बैंकहरु कर्जा प्रवाह गर्न सक्ने अवस्थामा भने छैनन् । अहिले पनि एक दर्जनभन्दा धेरै बैंकको निक्षेपमा कर्जा अनुपात (सीडी रेसियो) ९० प्रतिशतभन्दा माथि छ ।

ती बैंकलाई असार मसान्तसम्म सीडी रेसियोलाई ९० प्रतिशतमा झार्नुपर्ने बाध्यता छ । यस्तो रेसियो ९० भन्दा माथि रहेसम्म बैंकले कर्जा प्रवाह गर्न नसक्ने अवस्थालाई जनाउँछ ।