राष्ट्र बैंकले सेयर धितो कर्जाकाे ४/१२ को नीति पुर्नविचार गर्नुपर्छ : धितोपत्र बोर्ड अध्यक्ष हमाल

-



     सफल आवाज    
     जेठ २५ गते २०७९ मा प्रकाशित



काठमाडौं, २५ जेठ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाकाे ४/१२ को नीति पुर्नविचार गर्नुपर्ने बताएका छन । नेपाल धितोपत्र बोर्डकाे ३० औं वार्षिकउत्सव कार्यक्रममा उनले याे कुरा बताएका हुन । बोर्ड अध्यक्ष हमालले राष्ट्र बैंकले यसो गर्दा लगानीकर्ताको मनोवल बढ्ने कुरामा समेत जोड दिएका थिए ।

उता बोर्डले वार्षिक उत्सव बनाईरहँदा लगानीकर्ताहरुले भने माइतीघरमा जम्मा भएर आफना मागहरुको सुनुवाई गर्न माग गर्दै विराेध गरिरहेका थिए ।

अध्यक्ष हमालले लगानीकर्ताले ४/१२ सहितको १९ बुँदे माग राखेका र तिनमा पनि ४/१२ को मापदण्डप्रति धेरै गुनासो रहेकाेले त्यसलाई पुर्नविचार, पुनरावलोकन र निकास दिन आवश्यक भएको बताए । उनले भने, सो कुरालाई संवोधन गर्न सकियो भने लगानीकर्ताको आक्रोस र गुनासो हट्छ र उनीहरुको मनोवल बढ्ने काम पनि हुन्छ ।

हमालले बोर्ड पूँजी बजारको समस्याका बारेमा जानकार रहेकोले यसमा सुधार गर्नका लागि सरोकारवाला निकायहरुसंग सरसल्लाह भईरहेको कुरालाई दोहोर्याए । साथै उनले राष्ट्र बैंकसंग कुराकानी भईरहेको बताए ।

सो अवसरमा हमालले मर्जरमा सेयर कारोबारलाई रोक्का राख्ने व्यवस्थाको अन्याैल हट्ने र निकास छिट्टै आउने बताए । अहिले युक्रेन र रसियाबीच चलिरहेको युद्धको कारण पनि सेयर बजार प्रभावित बन्न पुगेको उनको भनाई थियो ।