फेवा फेरो फुट ट्रयाक रेखी

-



     सफल आवाज    
     असाेज ११ गते २०७७ मा प्रकाशित


पर्यटकीय गन्तव्य पोखराको फेवा ताल


पोखरा, ११ असोज । विश्व पर्यटन दिवस अवसरमा पोखराका पर्यटन व्यवसायीले फेवा फेरो फुट ट्रयाक रेखी गर्ने भएका छन् । यस वर्ष कोरोना भाइरस महामारीका कारण जनजीवन असहज बनेपछि पर्यटन व्यवसायीले विगतका जस्तो कार्यक्रम छोडेर यसपालि फेवातालमा फुट ट्रयाक निर्माणका लागि दबाब दिन सो कार्यक्रम गर्ने भएका हुन् ।

सो कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङको नेतृत्वमा फेवातालमा डुंगा सयर गर्दै तालको दक्षिणी भेगबाट पनि फुट ट्रयाक निर्माणको लागि सरोकारवाला पक्षसहितको अवलोकन भ्रमण हुँदैछ । कार्यक्रममा करिब १० वटा मोटरबोट डुंगा प्रयोग हुनेछन् । फेवाताल किनार ड्यामसाइडबाट डुंगा सवार सुरु गरी बाराही मन्दिर पारी पुग्नेछ । फुटट्रयाक रेखी रानीबनमा लगाइनेछ।

पोखरा घुम्न आउने पर्यटकको बसाइँ अवधि लम्ब्याउन विगतदेखि नै टान पोखराले सरकारलाई दबाब दिँदै आएको भए पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन।

तसर्थ यसपालि मुख्यमन्त्री नेतृत्वमा प्रदेशका पर्यटन मन्त्री विकास लम्साल, प्रदेश सांसद राजीव पहारी, पोखरा महानगर मेयर मानबहादुर जिसी, पोखरा ६, १७, १८ र २२ वडाका वडाध्यक्षहरु सहित पर्यटन व्यवसायी सम्मिलित टोली आइतबार मध्यान्ह कोभिड–१९ विरुद्ध सामाजिक दूरी कायम गरी सयरमा निस्कने टान पोखराका अध्यक्ष हरि भुजेलले बताए।

उनका अनुसार सो ट्रयाक निर्माणले आगामी दिनमा पोखराको पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने अपेक्षा छ । यहाँ घुम्न आउने पर्यटकले तालको उत्तर भागबाटमात्रै हिमाल र ताल अवलोकन गर्दै आएकोमा सो निर्माणपछि तालको दक्षिणी भेगबाट ताल र हिमाललाई एकेै नजरमा हेरेर रमाउन पाउने छन् । पोखरालाई उत्तरतर्फबाट पारेर हिमाल र ताल एकै पटक हेर्न पोखरा २२ स्थित विश्व शान्ति स्तुपा पुग्नुपर्ने बाध्यता छ।

फुट ट्रयाक निर्माणले रानीवन, फेवाताल, हिमाल र पोखरा सहर एकै नजरमा देख्न सकिन्छ । ताल र वनमा क्षति नपुग्न र प्राकृतिक सम्पदा नबिग्रने गरी निर्माण गरिने फुट ट्रयाक करिब १५ किमी सम्म हुने अनुमान छ।

पोखरा घुम्न आउने पर्यटकको बसाइँ अवधि हाल २ देखि ३ दिनमात्र छ । फुट ट्रयाक निर्माणले थप एक दिन बसाइँ लम्बिने पर्यटन व्यवसायीहरुको अनुमान छ।

पोखरामा गत वर्ष करिब ४ लाख नेपाली र ४ लाख विदेशी पर्यटक घुम्न आएका थिए । नेपाल घुम्न आउने पर्यटकमध्ये ४० प्रतिशत यहाँ आउँछन् ।

फेवातालको उत्तरी भागमा यसअघि ५ किमी लम्बाइको फुट ट्रयाक निर्माण भैसकेको छ । पोखरा घुम्न आउने आन्तरिक एवं बाह्य पर्यटक बिहान–साँझ ताल किनारमा कावा खाँदै रमाउने गर्दछन्।