सेयर बजारको ओरालोको यात्रा कायमै, कारोबार झर्यो ८९ करोडमा

-



     सफल आवाज    
     जेठ २७ गते २०७९ मा प्रकाशित



काठमाडौं, २७ जेठ । साताको सेयर कारोबार हुने अन्तिम दिन शुक्रबार पनि नेपाली सेयर बजार राताम्मै भएको छ । लगातार ओरोलो लाग्दै आएको नेप्सेमा जेठ २५ गते नवौं दिनपछि ओरालो छोडेर उकालो लागेको थियो ।

जेठ २६ मा नेप्से राताम्मै भएर लगानीकर्ताको मनलाई खिन्न बनाएको सोहि दृश्य आज काराेबार हुने अन्तिम दिन पनि दोहोरीएको छ । यतिमात्र नभै कारोबार रकममा पनि निकै गिरावट देखिएको छ । यसदिन काराेबार अर्बबाट घटेर ८९ करोडमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४.६४ अंकले घटेर २०४८.१६ विन्दुमा झरेको छ । नेप्सेमा ०.७१ प्रतिशतले गिरावट भएको छ । सेन्सेटिभ इण्डेक्स ४.११ अंकले घटेर ३९२.२५ विन्दुमा रहेको छ ।

कुल २२९ कम्पनीको सेयर कारोबार भएको छ । ३० लाख ४५ हजार ८३८ कित्ता सेयरको खरिदबिक्रीबाट ८९ करोड ४१ लाख २४ हजार ११४ रुपैयाँ बराबरको करोबार भएको छ ।

१३ वटै उपसमूहहरु राताम्मै भएका छन्। सबैको सेयर घटेको छ । कारोबारको आधारमा सबैभन्दा बढी कुमारी बैंकको कारोबार भएको छ । बैंकको ५ करोड ५ लाख ४५ हजार १६८ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।