
पोखरा, ११ असोज । पर्यटकीय क्षेत्र पोखरा कोरोना प्रभावका कारण ७ महिनादेखि सुनसान छ । केही पर्यटन व्यवसायीले होटल तथा रेष्टुरेन्ट संचालन गरे पनि केही पर्ख र हेरको अवस्थामा छन् । खोलिएका होटलहरुमा पनि पाहुनाको पर्खाइमा छन् । सधैँ व्यस्त रहने फेवातालको किनार, लेकसाइड, डेभिजफल, सराङकोट, महेन्द्रगुफा, सराङ्कोट लगायत क्षेत्र सुनसानप्रायः देखिन्छन् ।
यसैबीचमा २७ सेप्टेम्बर अवसरमा परेको ४१ औं विश्व पर्यटन दिवसलाई आइतबार पोखराका पर्यटन व्यवसायीले फरक ढंगले मनाएका छन्।
पर्यटन व्यवसायीले सरोकारवाला निकायका प्रतिनिधि सहभागी गराएर ‘फेवा फेरो फुट ट्रयाक रेखी’ गरेका छन् । जसबाट पोखरामा आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धन हुने र पर्यटकको बसाइँ लम्बिने आशा छ ।
यस वर्ष कोरोना भाइरस महामारीका कारण जनजीवन असहज बनेपछि विगतका जस्तो कार्यक्रम छोडेर यसपालि तालको दक्षिणी भेग रानीवनमा फुट ट्रयाक निर्माणमा दबाब दिन पर्यटन व्यवसायीहरुले डुंगा सयर गरी सो रेखी गरेका हुन् ।
प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङको उपस्थितिमा तालमा डुंगा सयर गर्दै सरोकारवाला निकाय प्रतिनिधिले सो अवलोकन भ्रमण गरेका हुन् ।
कार्यक्रममा करिब १० डुंगामा ५० जना सहभागी भएर फेवाताल किनार ड्यामसाइड हुँदै तालबाराही मन्दिरसम्म फुटट्रयाक रेखी गरेका हुन् । कोरोना संक्रमणका बेला २५ जनाभन्दा बढी सहभागी नहुन सरकारले पटक–पटक आग्रह गरे पनि सोको विपरीत जम्बो टोली सो कार्यक्रममा भेला भएको थियो।

टोलीमा मुख्यमन्त्री गुरुङ सहित प्रदेशका पर्यटन मन्त्री विकास लम्साल, प्रदेश सांसद राजीव पहारी, पोखरा महानगर मेयर मानबहादुर जिसी, वडाध्यक्ष, पर्यटन व्यवसायीको सहभागिता थियो।
मुख्यमन्त्री गुरुङले फेवातालको सिमाङ्कन काम सकेपछि मात्रै रानीवन क्षेत्रमा फुटट्रयाक निर्माणका लागि लाग्ने बताए ।
आयोजक टान पोखराका अध्यक्ष हरि भुजेलले पोखरा घुम्न आउने पर्यटकको बसाइँ अवधि लम्ब्याउन फुटट्रयाक निर्माण बजेट विनियोजन भएपनि काम भने हुन नसकेका कारण सरोकारवालालाई अवलोकन गराएको बताए ।
यहाँ घुम्न आउने पर्यटकले तालको उत्तर भागबाटमात्रै हिमाल र ताल अवलोकन गर्दै आएकोमा सो निर्माणपछि तालको दक्षिणी भेगबाट ताल र हिमाललाई एकै नजरमा हेरेर रमाउन पाउने छन् ।
पोखरा घुम्न आउने पर्यटकको बसाइँ अवधि हाल २ देखि ३ दिनमात्र छ । फुट ट्रयाक निर्माणले थप १ दिन बसाइँ लम्बिने पर्यटन व्यवसायीहरुको अनुमान छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



