सेयर बजारमा छायो हरियाली, १ अर्ब २३ करोड बढीको कारोबार

-



     सफल आवाज    
     असार ७ गते २०७९ मा प्रकाशित



काठमाडौं, ७ असार । लगातार ओरालो लागेको नेपाली सेयर बजार मंगलबार रातो घेरालाई ब्रेक गर्दै उकालो लागेको छ । सेयर बजारमा हरियाली छाउँदा लगानीकर्ताहरुको मनोवल बढेको छ ।

पछिल्ला दिनहरुमा दलका शिर्ष नेताहरुबीच सेयर बजारको खस्किएको अवस्थाका बारेमा छलफल भईरहेको छ । लगानीकर्ताहरुले यो समस्या समाधानको लागि नेताहरुसंग उचित पहल गर्न भेटघाट गरिरहेका छन् भने उनीहरुको आन्दोलन पनि जारि रहेको छ ।

सेयर लगानीकर्ताहरुले संघर्ष समिति बनाई आन्दोलन गरिरहेका छन् । समितिका संयोजक तीलक काेइराला आमरण अनशनमा बसिरहेका छन् भने उनको स्वास्थ्य अवस्था गम्भिर बनेपछि पाटन अस्पताल लगिएको छ ।

लगानीकर्ताले राष्ट्र बैंकले लागू गरेको ४/१२ करोडको सेयर धितो कर्जाको खारेजी लगायतका १९ बुँदे मागहरु राखेर नियामक निकायहरुको ढोका घच्घच्याए पनि सुनवाई भएको छैन् ।

आजै दलका नेताहरुले संसद तथा सार्वजनिक कार्यक्रममा सेयर बजारको समस्या समाधानका लागि राष्ट्र बैंक तथा सरकार तत्पर हुनुपर्ने बताएका छन् ।

सेयर बजारमा हरियाली

लगानीकर्ताको पक्षमा मत जुट्दै गर्दा आजै सेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्स परिसूचक ३७.४९ अंकले बढेर १९२२.३० विन्दुमा पुगेको छ । नेप्सेमा १.९९ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इन्डेक्स ८.१८ अंकले बढेर ३७४.३७ विन्दुमा पुगेको छ ।

यसदिन कुल २३१ कम्पनीको सेयर कारोबार भएको छ । ३७ लाख १२ हजार ७४६ कित्ता सेयरको कारोबारबाट १ अर्ब २३ करोड ८५ लाख १८ हजार २०१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । सबैको सेयर बढेको छ । कारोबारको आधारमा सबैभन्दा बढी नेपाल टेलिकमको कारोबार भएको छ । टेलिकमको ११ करोड ५९ लाख ७३ हजार ६४९ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।