अर्थमन्त्री शर्माले राजिनामा दिएको भोलिपल्टै नेप्सेमा १६.६० अंककाे गिरावट

-



     सफल आवाज    
     असार २३ गते २०७९ मा प्रकाशित



काठमाडौं, २३ असार । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजिनामा गरेको भोलि पल्टै बिहिबार सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । बुधबार दोहोरो अंकले बढेको सेयर बजार बिहिबार आज फेरि ओरालो लाग्दा लगानीकर्ताको उत्साहलाई घटाएको छ ।

अर्थमन्त्री शर्माले पदबाट राजिनामा दिएको भोलिपल्टै सेयर बजारमा करेक्सन देखिएपछि नयाँ अर्थमन्त्री नआउँदासम्मको अवधिसम्म प्रधानमन्त्री शेर बहाद’र देउवाले थामेको अर्थमन्त्री समेतको भार कस्तो हुन्छ त्यो हेर्न नै बाँकी रहेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १६.६० अंकले घटेर २०२७ विन्दुमा झरेको छ । नेप्सेमा ०.८१ प्रतिशतको गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.४२ अंकले घटेर ३८५.४९ विन्दुमा रहेको छ ।

कुल २२९ कम्पनीको सेयर कारोबार भएको छ । ४७ लाख ११ हजार २५ कित्ता सेयरको कारोबारबाट १ अर्ब ८० करोड ६२ लाख ४ हजार ७६५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये म्युचुअल फण्डमा मात्रै हरियो लागेको छ । सो फण्डको ०.०९ अंकको को बृद्धि भएको छ । बाँकी १२ वटै उपसमूहमा राताे लागेको छ । सबैको सेयर घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको कारोबार भएको छ । कम्पनीको ७ करोड ६५ लाख ८९ हजार ९८२ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।