आजदेखि करको सीमा बढ्यो, विवाहितलाई ६ लाख रुपैयाँसम्मकाे आयमा कर नलाग्ने

-



     सफल आवाज    
     श्रावण १ गते २०७९ मा प्रकाशित



काठमाडौं, १ साउन । सरकारले आजदेखि आयकरको सीमा बढाएको छ । आर्थिक वर्ष २०७९/८० को बजेटमा सरकारले आयकरको सीमा बढाएको हो । नयाँ व्यवस्था आजैदेखि लागु हुनेछ।

नयाँ व्यवस्थाअनुसार अविवाहित व्यक्तिको हकमा वार्षिक ५ लाख रुपैयाँसम्मको आम्दानीमा आयकर लाग्ने छैन । त्यस्तै विवाहितको हकमा ६ लाख रुपैयाँसम्म आयकर लाग्दैन । यद्यपि आफ्नो आम्दानी एक प्रतिशत सामाजिक सुरक्षा कर भने बुझाउनुपर्नेछ।

यसैगरी अविवाहितको हकमा पाँचदेखि सात लाख रुपैयाँसम्मको आम्दानी १० प्रतिशत र सातदेखि दस लाख रुपैयाँसम्मको आम्दानीमा २० प्रतिशत, १० देखि २० लाख रुपैयाँसम्मको आम्दानीमा ३० प्रतिशत आयकर लाग्ने व्यवस्था गरिएको छ ।

वार्षिक २० लाख रुपैयाँभन्दा आम्दानी हुने अवस्थामा भने त्यसभन्दा माथिको आम्दानीमा ३६ प्रतिशत आयकर तिर्नुपर्छ । विवाहितको हकमा ६ लाखदेखि ८ लाख रुपैयाँसम्मको आम्दानीमा १० प्रतिशत आयकर तिर्नुपर्ने नयाँ व्यवस्था छ।

८ लाखदेखि ११ लाख रुपैयाँसम्मको आम्दानीमा २० प्रतिशत र ११ लाखदेखि २० लाख रुपैयाँसम्मको आम्दानीमा ३० प्रतिशत आयकर लाग्नेछ । २० लाखभन्दा माथिको आम्दानीमा ३६ प्रतिशत आयकर तिर्नुपर्नेछ।