मनसुन बाहिरिन अझै एक साता लाग्ने

-



     सफल आवाज    
     असाेज १४ गते २०७७ मा प्रकाशित



काठमाडौँ, १४ असोज । नेपालबाट मनसुन बाहिरिन अझै एक साता लाग्ने भएको छ । मनसुन पश्चिमी भूभागबाट बाहिरिने क्रम शुरु भई सकेको मौसमविद् निराजन सापकोटाले बताए । “पश्चिमी भूभागबाट बाहिरिन शुरु भएको मनसुन पूर्वी भूभागसम्म पुग्न एक हप्ता लाग्नेछ”, उनले भने ।

उनका अनुसार मनसुन पश्चिमी भूभागबाट शुरु भई पूर्वी भूभागबाट अन्त्य हुनेगर्छ । गत वर्ष पनि मनसुन अक्टोबरको पहिलो हप्ता बाहिरिएको थियो । मनसुन बाहिरिने औसत समय सेप्टेम्बर २३ भए पनि विगत दुई–तीन वर्षदेखि मनसुन अक्टोबरसम्म पुग्ने गरेको बताइएको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ ।

राति प्रदेश नं १, वाग्मती, गण्डकी र प्रदेश ५ मा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी, कर्णाली र प्रदेश नं ५ का केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।