साउन ६ गतेदेखि पोखरामा बृत्ति परामर्श तथा रोजगार मेला आयोजना हुने

-



     सफल आवाज    
     श्रावण ३ गते २०७९ मा प्रकाशित



पोखरा, ३ साउन । आगामी साउन ६ गतेदेखि पोखरामा बृत्ति परामर्श तथा रोजगार मेला आयोजना हुने भएकाे छ । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेशको आयोजना, नेपाल सरकार तथा स्वीस सरकारको द्वीपक्षीय सहयोगमा पोखरामा साउन ६ गतेदेखि ८ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रमा “बृत्ति परामर्श तथा रोजगार मेला” २०७९ आयोजना हुने भएकाे हाे।

“समृद्ध गण्डकीको आधार उद्यमशीलता र रोजगार” भन्ने मूल नाराका साथ आयोजना हुने बृत्ति विकास परामर्श तथा रोजगार मेलामा प्राविधिक शिक्षा तथा व्यावसायीक तालिमका विषयमा विद्यार्थी र सरोकारवालालाइ जानकारीसहितको परामर्श दिईने भएको छ ।

मन्त्रालयमा मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले बेरोजगार र रोजगारदाताका लागि कामको उपलव्धताका बारे साझा थलो बनाउन चाहेको बताए । उनले रोजगार विनिमय प्रणालीको विकास र सरोकारवालाहरुको आवश्यकताको आधारमा आवश्यक पर्ने जनशक्तिको उत्पादन र विकास गरी प्रदेशलाई चाहिने मानव संशाधनको परिपूरण गर्ने उदेश्य रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिव बहादुर कोईरालाले पर्यटन क्षेत्रमा मात्रै १० हजार कामदारको आवश्यकता रहेको र अन्य क्षेत्रमा पनि कामदारको आवश्यकता भएकोले यस मेला दक्ष जनशक्ति उत्पादनका लागि सहयोगी हुने बताए । बिचौलियालाई फाइदा लिनबाट रोक्नका लागि (TEMIS) एप्सको विकास गरिएकोले त्यहाँ बेरोजगार र रोजगारदाताले आफ्ना विवरणहरु राख्ने व्यवस्था मिलाईएको छ ।

कार्यक्रम नेपाल व्यावसायीक योग्यता प्रणाली परियोजनाको प्राविधिक सहयोग, गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम प्रतिष्ठान जटिइभिटिए, प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद् सिटिइभिटि गण्डकी, उद्योग महासंघ गण्डकी, पोखरा उद्योग वाणिज्य संघ, लेखानाथ उद्योग वाणिज्य संघ, घरेलु तथा साना उद्योग महासंघ गण्डकी, रोजगारदाताहरु, राइट फर चिल्ड्रेन समेतको सहकार्यमा बृत्ति परामर्श तथा रोजगार मेला २०७९ आयोजना गर्न लागिएको बताइएकाे छ ।

मेलामा प्रदेशस्तरीय ठूला उद्योगी, व्यवसायी एवं रोजगारदाता, घरेलु तथा साना उद्योगीहरु, बैंक तथा वित्तिय संस्थाहरु लगायतले रोजगारीका अवसर र त्यसका लागि सहजिकरण गर्नेछन् ।

प्राविधिक शिक्षा तथा व्यावसायीक तालिमका अवसरहरु, सीपहरुको प्रमाणीकरण, विभिन्न रोजगारीका अवासरहरुको बारेमा जानकारी र सहजिकरण तालिम तथा रोजगार व्यवस्थापन सूचना प्रणाली टिईएमआइएस (TEMIS) एप्सको प्रयोको बारेमा जानकारी दिईने भएको छ । राष्ट्रिय व्यावसायीक योग्यता प्रणाली र पूर्व सिकाई मान्यता विधिका साथै बृत्ति परामर्श लगायतका स्टलहरु रहने भएका छन् ।

मन्त्रालयका अनुसार यस बृत्ति परामर्श तथा रोजगार मेलामा विभिन्न उमेर समूहका १० हजार बढी मानिसले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

मेला अवधिभरी सहभागिले रोजगारीका संभावित क्षेत्रहरुको बारेमा जानकारी हाासिल गर्ने, प्राविधक शिक्षा अध्ययन गर्न सकिने र अध्ययनका लागि अवलम्वन गर्नुपर्ने प्रक्रियाका बारेमा जानकारी प्राप्त गर्ने बताईएको छ । यस्तै स्थानिय जनशक्तिलाई स्थानियस्तरमै रोजगारी उपलव्ध गराउन सहजिकरण हुने, पूर्व सिकाईको मान्यताका बारेमा जानकारी हुने र राष्ट्रिय व्यावसायीक योग्यता प्रणाली कार्यान्वयनका लागि आधार तय हुने जनाईएको छ ।