मन्दिरमा गजुर राखेपछि रानीपोखरी क्षेत्र मनमोहक देखियो

-



     सफल आवाज    
     असाेज १६ गते २०७७ मा प्रकाशित


तस्बिर:रोशन सापकोटा/रासस


काठमाडौं, १६ असोज । ऐतिहासिक रानीपोखरीमा गजुर राखिएको छ । मन्दिरमा गजुर राखेपछि रानीपोखरी क्षेत्र मनमोहक देखिएको छ । रानीपोखरीको बीच भागमा निर्माणाधीन अवस्थामा रहेको बालगोपालेश्वर मन्दिरमा मुख्य एक र अन्य चार गरी पाँच स्थानमा गजुर राखिएको हो ।

मुख्य गजुरको तौल १२३ किलोग्राम रहेको छ । गजुर तामाको बनाईएको हो । गजुरको बाहिरी आवरणमा सुनले लेपन गरिएको छ । भूकम्पका कारण पूर्णरूपमा भत्किएको रानीपोखरी अहिले लगभग निर्माण सम्पन्न भएको अवस्थामा आएको छ । यही दशैँअघि नै उद्घाटन गर्ने योजना रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जानकारी दिएको छ । अहिले सरसफाइ र बत्ती राख्ने काम भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले बताए ।

शुरुमा काठमाडौँ महानगरपालिले पुनःनिर्माण गर्ने भने पनि कहिले पुरातत्व विभागसँग त कहिले कामपामा नै आन्तरिक कुरा नमिल्दा तीन वर्षसम्म पुनःनिर्माणको काम अघि बढ्न सकेको थिएन । अन्ततः पुनःनिर्माणको काम प्राधिकरणलाई जिम्मा दिइएको थियो । भूकम्प गएकै वर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पुर्याएको सम्पदा पुनःनिर्माणको शुरुआत रानीपोखरीबाटै गरेकी थिइन ।

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तेन्द्र मल्लको नाममा रानीपोखरी बनाएका हुन । पोखरीको निर्माण कार्य करिब पाँच वर्षभित्र अर्थात नेसं ७८९ विसं १७२५मा सम्पन्न भएको थियो । नेसं ७९० विसं १७२७÷ई।सं। १६७० मा शिलापत्र राखिएको थियो ।

पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चार वटा मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरेको राष्ट्रिय समाचार समितिले लेखेको छ ।