
काठमाडौं, १० साउन । अर्थ मन्त्रालयको डिलिट भएको गत जेठ १४ गतेको सीसीटीभी फुटेज ‘रिकभर’ गरिएको छ । नेपाल प्रहरीको विज्ञ टोलीले जेठ १४ गतेको ५१ वटा भिडियो फुटेज रिकभर गरेर संसदीय विशेष छानविन समितिमा बुझाएको हो ।
तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि गत जेठ १४ गते राति बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेको थियो भने उनले सीसीटीभी फुटेज १३ दिनपछि आफैं डिलिट हुने प्रविधि रहेको जवाफ दिएका थिए।
सीसीटीभी फुटेज आफैं डिलिट भएको जवाफ गैरजिम्मेवार भएको भन्दै तत्कालीन अर्थमन्त्री शर्माको निकै आलोचना भएको थियो। उक्त आरोपपछि उनले अर्थमन्त्री पदबाट राजीनामा दिएका र त्यस यता प्रधानमन्त्री शेरबहादुर देउबाले नै मन्त्रालयको कार्यभार सम्हाल्दै आएका छन्।
सो प्रकरणको छानबिन गर्दै आएको संसदीय विशेष समितिलाई नेपाल प्रहरीको विज्ञ टोलीले जेठ १४ गतेको ५१ वटा भिडियो फुटेज रिकभर गरेर बुझाएको छ । एउटा प्याकेजमा २५ वटा र अर्को प्याकेजमा २६ वटा क्लिपहरु प्रहरीले समितिलाई बुझाएको हो ।
समिति सदस्यहरुले मंगलबार बिहान बसेको समितिको बैठकमा नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको केन्द्रीय प्रहरी डिजिटल फरेन्सिक विज्ञान प्रयोगशालाबाट प्राप्त भएका रिपोर्ट र ५१ औटा भिडियोका फुटेज अवलोकन गरेका हुन्।
प्राप्त क्लिपहरु केही सेकेन्डका र स्पष्ट नदेखिने खालका रहेका बताइएको छ। फुटेजहरु स्पष्ट नभएकाले आज ४ बजे पुन: बस्ने बैठकमा फरेन्सिक विज्ञहरुलाई बोलाएर उनीहरुको परामर्शमार्फत् स्पष्ट हुने समितिका एक सदस्यले जनाएका छन् ।
यसबारेमा अर्थ मन्त्रालयलाई जानकारी नभएको भन्दै मन्त्रालयका प्रवक्ता ढुण्डीप्रसाद निरौलाले भने, ‘हामीलाई यसबारे कुनै जानकारी आएको छैन। हामीले १३ दिनपछि सबै सीसीटीभी फुटेज अटोमेटिक डिलिट हुने प्राविधि रहेको जवाफ पठाएका थियौं। हाल यो विषय संसदीय छानबिन समितिले हेरिरहेको छ र हामीलाई कुनै नयाँ जानकारी उपलब्ध गराएको छैन।’








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




