महोत्तरी, १७ असोज । “हरिॐ नमस्ते रुद्र मण्याय” सखारैको रुद्राभिषेक पाठ । लामो टुपी पालेका पित बस्त्रधारी बटुकहरुको रुद्राभिषेक पाठसँगै शुरु हुने नियमित दैनिकीको चहलपहल पछिल्लो सात महिनायता महोत्तरी जिल्लाको भारतीय सीमावर्ती मटिहानीस्थित गुरुकूल, राजकीय संस्कृत माध्यमिक विद्यालयमा देखिन छाडेको छ । मटिहानीवासीले अहिले गुरुकूलको पठनपाठन र बटुक पर्खिरहेका छन ।
कोभिड–१९ को सङ्क्रमण जोखिमले पठनपाठन रोकिएपछि पछिल्लो सात महिनायता गुरुकूल सुनसान बनेको हो । संस्कृृत शिक्षा पढ्ने चाहनाले मधेश झरेका पहाडी दुर्गम जिल्लाका विद्यार्थी सङ्क्रमण जोखिमले घर गएका छन । मुलुकका विभिन्न भेग र छिमेकी मित्रराष्ट्र भारतका बटुकहरु गुरुकूल छात्रावासमा बस्दै आएका छन । मुलुककै विभिन्न क्षेत्रका र मित्रराष्ट्र भारतका बटुक, विद्यार्थीको आत्मीय र अनुशासित आहारब्यवहार मटिहानीवासीको सम्झनामा रहने गरेको छ ।
संस्कृत शिक्षा पढ्न पहाडबाट झरेका विद्यार्थी अनुशासित, सहृदयी र मिहिनेती रहेका मटिहानीवासीको आमप्रतिक्रिया भेटिन्छ । “पछिल्लो सात महिनायता कोभिड–१९ बमे सन्त्रासले गुरुकूलको पठनपाठन र छात्रावास बन्द हुँदा हाम्रो केही कुरा हराएको झैं लाग्छ”, गुरुकूल रहेको महिटानी नगरपालिका–७ का वडाध्यक्ष दिपनारायण माझी भन्छन, “गुरुकूलका बटुकको अनुशासन, नित्य रुद्राभिषेक पाठ र योगध्यानसहित कक्षाचित्तमा सधैं रहने सम्झना हन ।” फुर्सतका बेला बजार र बस्ती घुम्न निस्कदा पहाडबाट झरेका विद्यार्थीको बिनम्र बोलीचाली र शिष्टाचारयुक्त ब्यवहार यहाँका बासिन्दाका लागि आकर्षण हुने गरेको मटिहानी–७ का वडाध्यक्ष माझी बताउँछन ।
मटिहानी विगतदेखि नै संस्कृत शिक्षा अध्ययनको खास थलोका रुपमा परिचित छ । दुर्गम पहाडी जिल्लाबाट आउने एउटाको सम्पर्क सूत्रले त्यताबाट विद्यार्थी थपिने गरेका छन । कक्षा आठदेखि १२ सम्म पठनपाठन हुने यस विद्यालयमा अहिले दुर्गम पहाडी जिल्ला दैलेखका मात्रै २० विद्यार्थी छन । पश्चिम नेपालको विकट पहाडी जिल्लाबाट मध्यपूर्वी तराईको भारतीय सीमावर्तीस्थित मटिहानी झरेका विद्यार्थी यसै ठाउँमा जन्मीहुर्की बढेका जस्तो उमेर अनुसारको नाता लगाएर बोल्ने गरेका स्थानीय सामाजिक÷राजनीतिक कार्यकर्ता राजकिशोर मण्डल बताउँछन् ।
विसं २०६२ मा संस्कृत शिक्षाको मोहले दैलेखको दुल्लुबाट आएका विद्यार्थी देवर्षी नेपालले शिक्षाका लागि नेपाल–भारत सीमाक्षेत्र दशगजाबाट १०० मिटर दूरीभित्रको यो विद्यालयमा जोडेका साइनोले त्यसयता त्यहाँबाट ५० भन्दा बढी विद्यार्थी आइसकेको विद्यालयका प्राचार्य इश्वरी पौडेल बताउँछन । “हुन त अन्य पहाडी जिल्लाबाट पनि विद्यार्थी आएकै छन तर दैलेखको साइनो चैं विशेषजस्तै लाग्छ”, उनी भन्छन्, “शिक्षाप्रतिको लगाव, मिहिनेत र अनुशासनको कुरामा पनि दैलेखका विद्यार्थी अब्बल छन ।” विकट पहाडी जिल्लाबाट पढ्न मधेशको पनि भारतसँगै सीमा जोडिएको बस्तीमा आएका फरक मातृभाषी यी विद्यार्थीको सङ्गतबाट मटिहानीका सर्वसाधारण पनि फरक भाषा, संस्कृतिसँग परिचित हुुने गरेको प्राचार्य पौडेलले बताए ।
विसं १७७५ मा स्थापित विद्यालयको प्रामाणिक अभिलेख भने विसं १८८२ देखिको भेटिएको छ । दैलेखको दुल्लुबाट आएर यसै गुरुकूलबाट भर्खरै एसइई, माध्यमिक शिक्षा परीक्षा उतीर्ण गरेका छात्र दिपक कार्की विद्यालयका गुरुजन र स्थानीय बासिन्दाको स्नेह एवं अध्ययन अनुकूल विद्यालय अनुशासनले सधैं उर्जावान बनाइ राख्ने बताउँछन । दिपकका एकाघर संगोलकै दुई जना दाजुले संस्कृत शिक्षामा उच्च तहको अध्ययन मटिहानीबाटै पूरा गरिसकेका छन ।
दैलेखको दुल्लुकै किशोर नेपाल, हृदयेन्द्र खडका, प्रकाश भण्डारी, खगेन्द्र भण्डारी, टङ्क थापा, दिनेश पौडेल र विवेक कार्कीसहित बटुक अहिलेका विद्यार्थी हुन । दुल्लु र मटिहानीको यो सम्बन्ध र सम्पर्कको सूत्रधार भने दुल्लु निवासी विद्यालयका पूर्व विद्यार्थी देवर्षी नै भएको गुरुकूलका शिक्षकहरु बताउँछन । “दैलेखसँग हाम्रो नाता जोड्ने देवर्षी नै हुन”, गुरुकूलका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झा भन्छन्, “अध्ययन सकेर विभिन्न पेशामा लागिसकेका र अहिले अध्ययनरत जोड्दा पछिल्लो १२÷१३ वर्षमा दैलेखको दुल्लुका मात्रै ५० भन्दा बढी छात्रले गुरुकूलसँग नाता जोडेका छन ।”
राजकीय संस्कृत माध्यमिक विद्यालयसँगै जोडिएर भगवान लक्ष्मीनारायण र महामुनी याज्ञबल्क्यका नाउँमा स्थापित याज्ञबल्क्य लक्ष्मीनारायण विद्यापीठ संस्कृत क्याम्पसमा स्नातक तहसम्मको उच्च शिक्षा गर्न पाएपछि पढ्न आउने विद्यार्थीलाई थप सजिलो भएको हो । विद्यालय परिसरमा पुग्ने विशिष्ट पाहुनाको स्वागतमा बटुक छात्रहरु वैदिक मन्त्रोच्चारणले न्यानो स्वागत र स्वस्तिवाचन गर्छन । विद्यालयको दैनिक तालिकामा बाँधिएको नियमले सबैलाई अनुशासनमा बाँधेको छ । “बिहान उठ्ने, नित्यकृयाबाट निवृत हुने, योगाभ्यास गर्ने, दैनिक रुद्री पाठ गर्ने, खाने, कक्षामा जाने, गृहकार्य गर्ने, घुम्ने, खेलकुद गर्ने र रात्रि बिश्रामसम्मका सबै कामका निश्चित समय तालिका बाँधिएको छ”, ८५ वर्षीय मण्डल भन्छन, “कोभिड–१९ महाब्याधीले अचेल बटुक र गुरुकूलको चहलपहल देख्न नपाउँदा हामी न्याश्रिएका छौं ।” कहिले विद्यालय खुल्ला र बटुकहरुको चहलपहल हेर्न पाइएला भन्ने प्रतिक्षामा रहेको उनको भनाइ छ ।रासस






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



