यती एयरलाइन्सले असाेज २१ देखि सिमरा उडान सञ्चालन गर्ने

-



     सफल आवाज    
     असाेज १६ गते २०७७ मा प्रकाशित



काठमाडौँ, १६ असोज । यती एयरलाइन्सले पुन:सिमराकाे लागि उडान सञ्चालन गर्ने तयारी गरेकाे बताएकाे छ । एयरलाइन्सकाे २२औँ वार्षिकोत्सवकाे अवसरमा असोज २१ देखि सिमराकाे लागि नियमित उडान गर्ने भएको हाे ।

एयरलाइन्सले सन् २००८ मा काठमाडौँ–सिमरा उडान भरेको थियाे । १२ वर्षपछि यही असोज २१ देखि बारा जिल्लास्थित सिमरा विमानस्थलमा उडान गर्न लागेको हो । सिमरा यतीकाे नवाैँ उडान क्षेत्र हो । एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर उडान गर्न लागेको बताएका छन । उनले भने, सिमरा उडानका लागि स्वीकृत लिएर असोज २१ गते देखि दैनिक रूपमा दुईवटा उडान गरिने तयारी भएकाे छ ।

यतीले प्रत्येक दिन विहान ९.०० बजे र अपरान्ह ४.४५ बजे काठमाडाैँ देखि उडान भर्ने जनाएकाे छ । एयरलाइन्सका बजार निर्देशक शरल एस जे वि राणाले यात्रुहरुको माग भएकाेले पुनः सिमराकाे लागि उडान शुरू गर्न लागेको बताएका छन् ।