आरएमडिसी लघुवित्तको नाफा ९९ प्रतिशतले बढ्यो 

-



     सफल आवाज    
     श्रावण १७ गते २०७९ मा प्रकाशित



काठमाडौं,  १७ साउन ।  आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्म साढे ३५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।

विवरण अनुसार यस लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्ममा ३५ करोड ४९ लाख ८ हजार ८४० रुपैयाँ खुद नाफा आर्जन गरेको देखिन्छ जुन अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिको तुलनामा ९९.४८ प्रतिशतले बढी हुन आउँछ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिसम्म कम्पनीको खुद नाफा १७ करोड ७९ लाख १८ हजार ३४ रुपैयाँ रहेको थियो । यसरी हेर्दा लघुवित्तले एक वर्षको अवधिमा १७ करोड ७० लाख रुपैयाँ बढी मुनाफा कमाउन सफल भएको देखिन्छ।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानीमा पनि ४९.५९ प्रतिशतले वृद्धि भएको छ भने कुल सञ्चालन आम्दानी पनि ४२.०२ प्रतिशत बढेको विवरणमा उल्लेख छ । समीक्षा अवधिमा धेरै सूचकहरुमा वृद्धि भइरहँदा सञ्चालन मुनाफा पनि ८६.०१ प्रतिशत बढेको पाइएको छ । यसबाहेक कम्पनीको प्रति सेयर नेटवर्थ २६८.१८ रुपैयाँ तथा मूल्य-आम्दानी अनुपात अर्थात् पीई रेसियो २९.३० गुणा रहेको पाइएको छ ।