५० अर्ब विनियोजन हुँदा पनि किसानलाई मलको अभाव, कारखाना खोल्ने योजना खै ? : डा संग्रौला

-



     सफल आवाज    
     श्रावण १७ गते २०७९ मा प्रकाशित



काठमाडौं, १७ साउन । सांसद डिला संग्रौलाले कृषिप्रधान देशमा वर्षेनी अर्बौंको चामल आयात भइरहेको र खेतीको समयमा किसानहरुले मल पाउन नसकेको बताएकि छन् ।

कतिपय ठाउंमा कालो बजारी छ, ऋण काढेर महँगोमा पनि मल नपाउने अवस्था छ । उनले भनिन्, तत्कालीन कृषि मंत्रीले भारतबाट फर्के लगत्तै संसदमा असार महिना भित्रै किसानले मल पाउने आश्वासन दिनु भएको थियो । देशले नयाँ कृषि मंत्री पाएको छ, तर किसानले मल पाएका छैनन् ।

मंगलबार प्रतिनिभि सभा बैठकको विशेष समयमा बोल्दै संग्रौलाले गएको चार आर्थिक वर्षमा मल खरिदका लागि भनेर सरकारले ५० अर्ब रकम विनियोजन गरेको पाईयो तर किसानले मलको अभाव भोग्नु परिरहेकाे बताईन ।

सार्वजनिक खरिद ऐनले गरेको व्यवस्थाअनुसार सम्झौता भएको ३० दिनपछि मात्रै आपूर्ति सुरु गर्ने व्यवस्था छ । यसलाई परिवर्तन गरेर अन्तर्राष्ट्रिय व्यवस्थाअनुसार ८ दिनमा आपूर्ति सुरु गर्ने व्यवस्था गरेमा समयमा मल ल्याउन सकिने सरकारी अधिकारीहरुको भनाइ छ ।

संग्रौलाले सरकारले भारत सरकारसँग गरेको जी–टू–जी सम्झौताअन्तर्गत ल्याउन खोजेको मल दुइ देशबीचको खरिदसम्बन्धी कानुनलाई मिलाउन समस्या भएकोले नआएको बताईन्छ । उनले भनिन्, अहिले संसद चलिरहेको छ, सार्वजनिक खरीद ऐन संशोधन गर्न के ले रोकेको छ ? के नयाँ चुनाव भए पछि मात्रै संशोधन गर्ने हो ? कि, अरु कुनै कारण छ भन्दै जवाफ मागिन् ।

उनले मलको अभावमा देशभित्रै प्रांगारिक मल उत्पादन गर्ने योजना नभएको भन्दै त्यसको माग गरिन् । उनको प्रश्न थियो, हाम्रो योजना खोइ ? रासायनिक मल उत्पादन गर्ने कारखाना खोल्ने हो भने त्यसको योजना खै ?

गत वर्ष सप्तरीका किसानहरुले रासायनिक मलका लागि आन्दोलन गरेको बताउँदै उनले गएको असारमा धादिङका किसानहरुले दुई ट्रक रासायनिक मल सडकमै लुटेका र किसानहरुको आक्रोश बढ्दै गएको स्मरण गराईन् । यसका बारेमा सरकार मौन रहेको उनको भनाई थियो ।

गत साता सरकारले भारत सरकारसँग ५ वर्षका लागि करिब ९ लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने सम्झौता गरेको भन्ने समाचार पढेको भएपनि अझै आश्वस्त हुन सक्ने वातावरण नबनेको उनको भनाई थियो ।

नागरिकको १० अर्ब ५२ करोड भुक्तानी दिएनन्

नेपाल सरकारले अनुदान रकम निकासा नगरेको भन्दै निर्जीवन बिमा कम्पनीहरूले सर्वसाधारण नागरिकको १० अर्ब ५२ करोड भुक्तानी दिएका छैनन् । गत साउनदेखि कम्पनीहरूले दाबी भुक्तानी बन्द गरेका उनले बताईन् ।

कोरोना महामारीको समयमा बीमा समितिले सामाजिक उत्तरदायित्वका नाममा कोरोना बिमा पोलिसी सञ्चालनमा ल्याएको भएपनि तीन वर्ष पुग्दा पनि भुक्तानी नगरिएको उल्लेख गरिन् ।

विभिन्न बीस बीमा कम्पनीमा एक लाख ६२ हजार बढीले १५ अर्ब बढी रुपैयाँको बीमा रकम दाबी गरेका थिए । त्यसमध्ये ५० हजार बढीले चार अर्ब ८३ करोड रुपैयाँ भुक्तानी पाएका छन् । अझै बीमा रकम दाबी गरेका एक लाख बढीले १० अर्ब ५२ करोड भुक्तानी नपाएको उनको भनाई थियो ।

बीमा समितिले जारी गरेको कोरोना बीमा मापदण्डो दाबी भुक्तानीमा सरकारले पनि दायित्व बहन गर्ने उल्लेख छ । तर, मापदण्डअनुसार आफ्नो हिस्सामा परेको दायित्व भुक्तानी गर्नबाट सरकार पन्छिएको उनको गुनासो थियो ।

सांसद संग्रौलाले विनाढिलाई एउटा मापदण्ड बनाएर देशभरी भुक्तानी हुन बाँकी रकम तत्काल भुक्तानी गर्ने व्यवस्था गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएकि छन् ।