२१८६ विन्दुमा झर्याे नेप्से परिसूचक, कारोबार रकम ४ अर्ब माथि

-



     सफल आवाज    
     श्रावण १८ गते २०७९ मा प्रकाशित



काठमाडौं, १८ साउन । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा गिरावट भएको छ । नेप्से परिसूचक घटेता पनि कारोबार रकमले भने ४ अर्ब पार गरेको छ । यो कारोबार अघिल्लो दिनको तुलनामा बढी हो ।

नेप्सेमा नकारात्मक प्रभावले फेरि बजार असन्तुलनको मार्गमा जाने त होईन भन्ने संकोच उत्पन्न गराएको छ । यसले लगानीकर्ताको उत्साहलाई बढाएको छैन ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ६.७२ अंकले घटेर २१८६.७६ विन्दुमा झरेको छ । नेप्सेमा ०.३१ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.६३ अंकले घटेर ४२०.५० विन्दुमा पुगेको छ ।

यसदिन कुल २१८ कम्पनीको सेयर कारोबार भएको छ । ९५ लाख ४२ हजार ६०७ कित्ता सेयरको खरिदबिक्रीबाट ४ अर्ब २ करोड ९९ लाख ४ हजार २५१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये ४ वटामा हरियो लागेको छ । उनीहरुको सेयरमूल्य बढेको छ । बाँकी ९ वटामा रातो लागेको छ । उनीहरु सबैको सेयरमूल्य घटेको छ ।

कारोबारको आकारमा सबैभन्दा बढी आज पनि शिवम् सिमेन्ट्सको कारोबार भएको छ । कम्पनीको २५ करोड ३४ लाख ३० हजार ६७० रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।

यसिदन बलेफी हाइड्राेपावर र सामलिङ्ग पावरकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ। स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडकाे सेयरमूल्य सबैभन्दा बढी ३.९२ प्रतिशतले घटेर प्रतिकित्ता ४ सय ५६ रूपैयाँमा कायम भएकाे छ ।