धितोपत्र बजारको चुनौतीभित्र नै सम्भावना छ: बोर्ड अध्यक्ष हमाल

-



     सफल आवाज    
     श्रावण २० गते २०७९ मा प्रकाशित



काठमाडौं, २० साउन । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले धितोपत्र बजारमा समस्या र चुनौती धेरै रहेको उल्लेख गर्दै चुनौतीभित्र नै सम्भावना रहेको बताएका छन् । धितोपत्र बजारको भविष्य राम्रो बनाउन लगानीकर्ताहरूको हितमा काम गर्नुपर्ने उनको विचार थियो ।

बिहीवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘पुँजीबजारको वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष हमालले लगानीकर्ताको विश्वास कायम रहे मात्र धितोपत्र बजारको विकास हुने बताएका हुन् ।

बुक बिल्डिङ विधिलाई प्रभावकारी रुपमा अघि बढाउन सरोकारवाला सबैले प्रभावकारी भूमिका खेल्नुपर्ने उनको भनाई थियो । यसै वर्ष क्यापिटल मार्केट इन्स्टिच्युट स्थापना गर्ने र २ महिनाभित्र एसएमइ प्लेटफर्म निर्माण गरिसक्ने लक्ष्य रहेको उनले बताए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाश कुमार श्रेष्ठले धितोपत्र बजारमा सबैको भन्दा बजारको जोखिमलाई बुझेर लगानी गर्न सक्नेको लगानी हुनुपर्ने बताए ।

यसैगरी मर्चेण्ट बैंकर एशोसिएसन अफ नेपालका अध्यक्ष मेख बहादुर थापाले धितोपत्र बजार विकासका लागि नयाँ नीतिहरू ल्याउनुको सट्टा पुरानै बजारका लागि आवश्यक नीति कार्यानेवयनका लागि सम्बन्धित सबैले ध्यान दिनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल धितोपत्र बोर्ड , नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र स्टक ब्रोकर एशोसिएशन अफ नेपालका प्रतिनधिले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्र प्रस्तुत गर्दै स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष सन्तोष मैनालीले ब्रोकरको पूँजी नभई नेटवर्थलाई हेरेर नीति बनाउनुपर्ने बताए । उनले उधारो कारोबार गर्ने लगानीकर्ताको शेयर बेचेर सेटलमेन्ट गर्न नसकिने धारणा व्यक्त गरे ।

यस्तै नेप्सेका प्रबन्धक निरञ्जन फुयाँलले धितोपत्र बजारमामा ८० प्रतिशत वित्तीय क्षेत्रको सहभागिता रहेको भन्दै वास्तविक क्षेत्रको प्रतिनिधित्व बढाउनुपर्ने बताए । बजारको आवश्यकता अनुसार अर्को स्टक एक्सचेञ्ज भित्रिनुपर्ने उनको विचार थियो ।

नेपाल धितोपत्र बोर्डका उप–कार्यकारी निर्देशक नारायण प्रसाद शर्माले बजारमा सबै विज्ञ हुनुभन्दा पनि बजारप्रतिको जोखिम र प्रतिफल सम्बन्धी धारणा बनाउनुपर्ने बताए । नियामक निकाय बोर्डलाई जवाफदेहिता सहितको स्वायतता हुनुपर्ने धारणा पनि उनले राखे ।